श्रीलंकामा २ सय इस्लामिक धर्मगुरुसहित ६ सय विदेशी देश निकाला

इस्टर सन्डेको बेला भएका श्रृंखलाबद्ध विष्फोटपछि श्रीलंकाले २ सय इस्लामिक धर्मगुरुसहित ६ सय विदेशीलाई देश निकाला गरेको छ

प्रकाशित मिति:

काठमाडौं । इस्टर सन्डेको बेला भएका श्रृंखलाबद्ध विष्फोटपछि श्रीलंकाले २ सय इस्लामिक धर्मगुरुसहित ६ सय विदेशीलाई देश निकाला गरेको छ ।

गृहमन्त्री बी। अबयवर्दनाले विष्फोटपछि छानविनको क्रममा भिसा अवधि समाप्त भइसकेको र केहीको गतिविधि शंकास्पद पाइएकाले देश निकाला गरिएको बताएका छन् । तर, देश निकाला गरिएकाहरु कुन(कुन देशका नागरिक हुन् भन्ने खुलेको छैन । यद्यपि प्रहरी सूत्रका अनुसार बंगलादेश, भारत, मालदिभ्स र पाकिस्तानका नागरिकहरुलाई देश निकाला गरिएको छ ।

श्रीलंकाका केही धार्मिक संस्थाहरुले दशकौंदेखि विदेशी उपदेशकहरुलाई राखेका थिए । गृहमन्त्री अबयवर्दनाले उनीहरुप्रति कुनै गुनासो नरहे पनि एकाएक आएका केही धार्मिक गुरुहरुलाई भने निगरानीमा राखिनुपर्ने बताएका छन् । केही विदेशी धर्मगुरुहरुले कुनै स्थानीय व्यक्ति वा समूहलाई भड्काएर फेरि आत्मघाती आक्रमण गराउन सक्ने श्रीलंका सरकारको आशंका छ । यसअघि वैशाख पहिलो साता श्रीलंकाका चर्च र होटलहरुमा श्रृंखलावद्ध बम विष्फोट हुँदा २ सय बढीको मृत्यु भएको छ भने ५ सयभन्दा बढी घाइते छन् । विष्फोटको जिम्मा इस्लामिक स्टेट समूहले लिएको छ । हालै नयाँ भिडियो सार्वजनिक गर्दै इस्लामिक स्टेट समूहका नेता अबु बकर अल बगदादीले इराकमा हारेको बदला लिन श्रीलंकामा श्रृंखलावद्ध बम विस्फोट गराइएको बताएका छन् ।