आज विराटनगर बन्द जनजीवन प्रभावित

प्रकाशित मिति:

विराटनगर- प्रदेश १ को संरचना स्थापनाबारे सत्तारुढ नेकपाले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै विराटनगरका राजनीतिक दल तथा पेशाकर्मीहरु संघर्षमा उत्रिएका छन् । अनिश्चितकालीन बन्दसहितको संघर्षका कार्यक्रम राखेर दल तथा पेशाकर्मीहरु संघर्षमा उत्रिएपछि जनजीवन प्रभावित बनेको छ ।

नेकपाको प्रदेश १ संसदीय दलको बैठकले विराटनगरलाई प्रदेश राजधानी बनाउने निर्णय गर्दै त्यसका संरचना वृहत विराट क्षेत्र विकासअन्तर्गतका इटहरी र सुन्दरहरैचामा राख्ने निर्णय गरेको थियो । प्रदेश संसद्मा बहुमतप्राप्त नेकपाले यस्तो निर्णय गरेसँगै राजनीतिक दल तथा विराटनगरका विभिन्न पेशाकर्मीहरु नागरिक दबाव समूह बनाएर संघर्षमा उत्रिएका हुन् ।प्रदेशका संरचनाहरु इटहरी र सुन्दरहरैचामा नराखेर विराटनगरमै राख्नुपर्ने माग उनीहरुको छ । प्रदेश १ राजधानी सार्ने षड्यन्त्र भएको आरोप लगाउँदै उनीहरुले विराटनगरलाई नै राजधानी बनाउने सुनिश्चितता गर्न पनि माग गरेका छन् ।

गठित शान्ति पूर्ण दबाव समितिमा कांग्रेस, संघीय समाजवादी फोरम, राजपादेखि उद्योगी, व्यवसायीहरु छन् । स्वयं नेकपा विराटनगरसमेत आफ्नै पार्टीको निर्णयविरुद्ध शान्तिपूर्ण दबाव समूहमा मिसिएको छ ।

बन्दले जनजीवन प्रभावित
अनिश्चितकालीन विराटनगर बन्दले सोमबार बिहानैदेखि जनजीवन प्रभावित भएको छ । उद्योग, कलकारखाना तथा बजार खुलेका छैनन् भने लामो तथा छोटो दूरीका सवारी नचल्दा आवतजावतमा असर परेको छ । यद्यपि, शैक्षिक संस्थामा भने बन्दको असर देखिएको छैन ।बन्दकर्ताहरु बिहानैदेखि सडकमा निस्किएका छन् । बन्दले जनजीवन केही प्रभावित बने पनि अप्रिय घटना भने नभएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।