आजदेखि सीमा खुल्ने

प्रकाशित मिति:

बांके – भारतको उत्तर प्रदेशमा भइरहेको चुनावी सुरक्षालाई मध्यनजर गर्दै ४८ घण्टा बन्द गरिएका बाँके र बर्दियाका सीमा नाका आज (सोमबार) देखि खुल्ने भएका छन् । बाँकेस्थित जमुनाह नाका, बर्दियासँग सीमा छोएका नाकाहरु सोमबार साँझ ६ बजेदेखि नियमित सञ्चालनमा आउने भएका हुन् ।

वैशाख २१ गते साँझ ६ बजेदेखि नाका बन्द हुँदा जमुनाहबाट रुपैडिहा हुँदै भारततर्फ जाने सर्वसाधारण, मालवाहक सवारीसाधन अहिले सीमा क्षेत्रमै थन्किएका छन् । भारतबाट औषधि उपचारका लागि गएका र रोजगारीबाट फर्किएका नेपालीलाई पैदल हिँडेर आउन दिइएको छ । आज (सोमबार) निर्वाचनका दिन पूर्णरुपमा आवागमन ठप्प हुने भारतीय सुरक्षा निकायले जनाएको छ । यद्यपि अत्यावश्यक सवारीसाधन, एम्बुलेन्स दुवै मुलुकका सुरक्षाकर्मीको समन्वयमा निर्वाध आउजाउ गर्न दिइएको छ ।

भारतको लोकसभा निर्वाचन मध्यनजर गर्दै नेपाल-भारत सीमा समन्वय समितिको संयुक्त बैठकले वैशाख २१ गते साँझ ६ देखि सोमबार २३ गते साँझ ६ बजेसम्म बाँके र बर्दियाको नेपाल–भारत सीमा नाका बन्द हुने सहमति गरेको थियो । बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङले पनि सीमामा अवान्छित गतिविधि हुन नदिन दुवै मुलुकको सुरक्षा अवस्था चुस्त पारिएको बताएका छन् । बर्दियासँग जोडिएको करिब ८७ किमि सीमा सोमबार साँझ ६ बजेसम्म बन्द रहने उनले बताए ।