पनामाको नयाँ राष्ट्रपतिमा पूर्वमन्त्री कोर्टिजो निर्वाचित

प्रकाशित मिति:

पनामा सिटी – मध्य अमेरिकी राष्ट्र पनामाका पूर्वमन्त्री लरेन्टिनो कोर्टिजो राष्ट्रपतिमा निर्वाचित भएका छन्। पनामाको निर्वाचन ट्रिब्यूनलले राष्ट्रपति पदका दुई उम्मेदवारबीच झिनो मतान्तर रहेकाले अन्तिम चुनावी परिणाम घोषणा गर्न बाँकी रहेको जनाएको छ। सोसल डेमोक्राट पार्टीका कोर्टिजोले संवाददाताहरुसँग कुरा गर्दै चुनावी परिणामबाट आफू निकै खुशी रहेको बताए। उनले मुलुकको विकासका लागि सबै पक्षको सकारात्मक सहयोग र एकता आवश्यक रहेको पनि बताए।

चुनावी मतसर्वेक्षणमा पनि कोर्टिजोले नै राष्ट्रपति पदमा निर्वाचित हुने देखाएका थिए। कोर्टिजोका अर्का प्रमुख प्रत्याशीमा पूर्व विदेश मन्त्री एवं डेमोक्राटिक चेन्ज पार्टीका अध्यक्ष रोमुलो रोउक्स रहेका थिए। चुनावी मतगणनामा स्वतन्त्र प्रत्यासी रिकार्डो लोम्बानाले पनि निकै राम्रो मत पाएका थिए।

चुनाव ट्रिब्यूनलका अनुसार करिब ९१ प्रतिशत मतगणना सकिँदा कोर्टिजोले ३३ प्रतिशत र रोउक्सले ३१ तथा लोम्बानाले २० प्रतिशत मत पाएका छन्। चुनावमा विजयीले राष्ट्रपति हुँवा कार्लोस भारेलालाई विस्थापन गर्नेछन्। पनामाको संविधानमा पाँच वर्षका लागि एक कार्यकाल मात्र राष्ट्रपति हुन पाइन्छ।

६६ वर्षीय कोर्टिजो पूर्व कृषिमन्त्री हुन्। ‘निटो’ उपनामले बोलाइने कोर्टिजोले पनामाको उद्धार गरी रुपान्तरण गर्ने दृढता व्यक्त गरेका छन्। भ्रष्टाचार, हत्याहिंसाजस्ता समस्याबाट पनामा वर्षौंदेखि आक्रान्त छ। राष्ट्रपतिको निर्वाचनसँगै जनताले ७१ जना संसद सदस्य, ८१ जना नगर प्रमुख तथा ७०० स्थानीय निकायका प्रतिनिधि छनौट गरेका छन्। सन् १९८९ मा संयुक्तराज्य अमेरिकाले सैनिक हस्तक्षेप गरी म्यानुएल नोरिएगालाई सत्ताच्यूत गरेपछि यो राष्ट्रपतिका लागि छैटौं निर्वाचन हो।