अमेरिकाले बमबर्षक टोली र नौसैनिक मध्यपूर्वमा पठाउने

प्रकाशित मिति:

वासिङ्टन – संयुक्तराज्य अमेरिकाले मध्यपूर्वमा एउटा बिमान बाहक जहाज र एउटा बमबर्षक टोली पठाउन लागेको जनाएको छ। अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले एक विज्ञप्तिमा इरानलाई स्पष्ट सन्देश दिन चाहेको बताएका छन्। बोल्टनले अमेरिकी केन्द्रीय कमान्डलाई मद्दत गर्न युएसएस अब्राहम लिन्कन क्यारिअर स्ट्राइक ग्रुप र एउटा बमबर्षक टास्क फोर्स पठाउन लागिएको जनाएका छन्। उनले इरानका कारण अमेरिकी सेना, अमेरिकी गठबन्धन र अमेरिकी हित प्रतिकूल गतिविधि हुने स्पष्ट सङ्केत देखिएको दाबी पनि गरेका छन्।

यस नयाँ व्यवस्थापछि अमेरिकी सुरक्षाफौजले अमेरिकी हित विपरीतका कुनै गतिविधि भएमा त्यसलाई नियन्त्रणमा ल्याउन जुनसुकै कारबाही गर्नसक्ने क्षमता विकास हुने बोल्टनको भनाई छ। बोल्टनले भनेका छन्, ‘संयुक्तराज्य अमेरिका इरानी सत्तासँग युद्ध गर्न चाहँदैन, तर कुनै आक्रमण भए त्यसविरुद्ध लड्न पूर्णरुपमा तयार छ । यस्तो युद्ध छद्मभेषी, इस्लामिक क्रान्तिकारी गार्ड वा नियमित इरानी फौज नै किन नहोस् ।’

विज्ञप्तिमा अहिल्यै नयाँ फौज परिचालन गर्नु परेको हो भन्ने केही खुलाइएको छैन। संयुक्तराज्य अमेरिकाले इरानसँग यसअघि सन् २०१५ मा भएको बहुपक्षीय सम्झौता तोडेर इरानमाथि प्रतिबन्ध घोषणा गरेपछि दुबै मुलुकबीच तनाब सिर्जना भएको छ।