गण्डकी प्रदेश: प्रदेशसभा सदस्य र पदाधिकारीको भत्ता बढाउने निर्णय

प्रकाशित मिति:

पोखरा – गण्डकी प्रदेश सरकारले प्रदेशसभा सदस्य तथा पदाधिकारीहरुको बैठक भत्ता बढाउने निर्णय गरेको छ। हिजो आइतबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश सभा सदस्य र पदाधिकारीहरुको बैठक भत्ता दैनिक एक हजार रुपैयाँ पुर्याउने निर्णय गरेको हो। यसअघि प्रदेशसभा सदस्य र पदाधिकारीको भत्ता दैनिक ७५० रुपैयाँ रहेको थियो ।

पोखरामै घर भएका प्रदेश सभा पदाधिकारी तथा सदस्यलाई आवास तथा मर्मत सुविधाबापत अरुले पाउने मासिक १५ हजार रुपैयाँको आधा दिने पनि निर्णय भएको छ । त्यस्तै बैठकमा पोखरा महानगरपालिकाको वडा नम्बर ३३ भरतपोखरीमा प्रदेश औद्योगिक ग्राम स्थापना गर्न आवश्यक ३२ सय रोपनी जग्गा उपलब्ध गराइदिन संघ सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ । त्यस्तै मन्त्रिपरिषद्को बैठकले तनहुँको आँबुखैरेनीमा पेट्रोलियम पदार्थ भण्डारण केन्द्र स्थापना गर्न केन्द्र सरकारसँग एक सय रोपनी जमिनको माग गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले बताए।