सुर्खेत आन्दोलनका घाइतेलाई सहयोग

प्रकाशित मिति:

सुर्खेत -छुट्टै प्रदेशको माग गर्दै २०७२ साउनमा सुर्खेतमा भएको आन्दोलनका क्रममा घाइते भएका तीन जनालाई इन्सेकले आर्थिक सहयोग गरेको छ।आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका वीरेन्द्रनगर–६ का २२ वर्षीय अनिष पन्त, २९ वर्षीय रामबहादुर श्रेष्ठ र दैलेख नौमुले गाउँपालिका–५ का २८ वर्षीय नरबहादुर पुरीलाई प्रतिव्यक्ति १०–१० हजार रुपैयाँ नगद सहयोग गरेको हो।आन्दोलनका क्रममा साउन २५ गते प्रहरीको गोलीबाट पन्त, श्रेष्ठ र पुरी घाइते भएका थिए।

तत्कालीन समयमा गृह मन्त्रालयले घाइतेको निःशुल्क उपचार र अन्य खर्च बेहोर्ने बताएको थियो। पीडितहरुले भने यातायात खर्चवापतको साढे तीन लाख बढी रकम नपाएको गुनासो गरेका छन्।इन्सेकले घाइतेहरुको थप उपचारका लागि थोरै भए पनि सहयोग गरेको बताएको छ। ‘हाम्रो सानो सहयोगले प्रदेश र संघीय सरकारको ध्यानाकर्षण हुने अपेक्षा लिएका छौं’, इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले भने, ‘आन्दोलनका क्रममा घाइते भएकाहरुलाई राज्यले प्रतिबद्धताअनुसार व्यवहार गर्नुपर्छ।’