आईपीएलमा विराट कोहलीसँग विवाद परेपछि अम्पायरले भत्काए ढोका !

प्रकाशित मिति:

एजेन्सी– इन्डियन प्रिमियर लीग (आईपीएल) को १२ औं संस्करणमा खेलाडी र अम्पायरहरूबीचको सम्बन्ध चिसिँदै गएको छ । हालै सार्वजनिक भएको घटनामा इंग्लिश अम्पायर नाइजल लोङ जोडिएका छन् । एम चिन्नास्वामी स्टेडियममा भएको एक म्याचका क्रममा रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहली र अम्पायर लोङबीच विवाद भयो । विवादपछि अत्यन्तै रिसाएका अम्पायर लोङले क्रोध निकाल्नका लागि अम्पायर रूमको ढोका नै भत्काइदिए ।

शनिवारको घटना हो यो । रोयल च्यालेन्जर्स र सनराइजर्स हैदराबादबीच लीग राउन्डको उनीहरूको अन्तिम खेल चलिरहेको थियो । त्यसैक्रममा लोङले आरसीबीका तीव्र गतिका बलर उमेश यादवको एक बललाई नोबल दिए । तर टीभी रिप्ले हेर्दा उमेश यादवको गोडाको पछिल्लो भाग क्रीजमै थियो । यो नोबल थिएन । अनि त विराट कोहली र उमेश यादव दुवैजना रिसाइहाले । कोहली र यादवले अम्पायरको निर्णयको मैदानमै विरोध गरेको भए पनि उनले निर्णय फिर्ता लिएनन् ।

प्रत्यक्षदर्शीहरूका अनुसार, सनराइजर्स हैदराबादको इनिङ सकिएपछि लोङ अर्का अम्पायरका साथ पेभिलियन आए र रिसको सुरमा अम्पायर रूमको ढोका भत्काइदिए । कर्नाटक राज्य क्रिकेट एसोसिएसनले घटनाको जानकारी म्याच रेफ्री नारायम कुट्टीलाई दिएको छ । पछि चाहिँ लोङले कर्नाटक क्रिकेट एसोसिएसनसँग कुरा गरे र क्षतिपूर्तिस्वरूप पाँच हजार भारु पनि दिए । आईपीएलका सीईओ हेमांग अमीनसँग यसबारेमा सोध्दा उनले जानकारी नभएको तर यसमा छानबिन गर्ने बताए ।