गोरखापत्र ११९ वर्षमा

प्रकाशित मिति:

काठमाडौँ – नेपाली भाषाको पहिलो अखबार अर्थात् ‘गोरखापत्र’ प्रकाशन सुरु भएको आज ११८ वर्ष पूरा भई ११९ वर्ष प्रवेश गरेको छ । गोरखापत्र प्रकाशनकै ऐतिहासिक दिनलाई स्मरण गर्दै नेपाल सरकारले राष्ट्रिय पत्रकारिता दिवस घोषणा गरे अनुसार आजै चौथो राष्ट्रिय पत्रकारिता दिवस विविध कार्यक्रमकाबीच मनाइँदैछ ।  नेपाली भाषा, साहित्य, कला, धर्म, संस्कृतिको विकास र पुस्ता हस्तान्तरणमा अतुलनीय योगदान पु¥याएको गोरखापत्र वि.सं. १९५८ वैशाख २४ गते सोमबार साप्ताहिकरूपमा प्रकाशन सुरु भएको थियो । एक शताब्दीभन्दा लामो इतिहास बोकेको गोरखापत्र नेपालको गौरवशाली सम्पदा समेत हो ।  गोरखापत्र नेपालको सामाजिक, राजनीतिक, आर्थिकलगायत सम्पूर्ण क्षेत्रमा भएका घटनाको साक्षी पनि हो । आफ्नो प्रकाशनको प्रारम्भदेखि १९९१ वैशाख ८ गतेसम्म हप्ताको एक दिन सोमबार र त्यसपछि २००१ असोजसम्म बुधबार प्रकाशन हुन थाल्यो ।

पछि साताको दुई र तीन पटक हुँदै २०१७ साल फानुन ७ गतेबाट दैनिक भएको हो ।  नेपालमा १९९४ सालदेखि पत्रपत्रिकाको दर्ता सुरु भएपछि पहिलो पटक ०१ मा ‘शारदा’ मासिक पत्रिका दर्ताभयो । १९९५ वैशाख २४ गतेबाट दर्ता नं. ०२ सहित प्रकाशन हुन थालेको गोरखापत्र दर्ता नम्बरमा दोस्रो भए पनि समाचारपत्रको हिसाबले गोरखापत्र हुलाक दर्ता हुने नेपालको पहिलो समाचारपत्र हो ।  गोरखापत्र १९६९ सालबाट सर्वप्रथम बिजुलीबाट चल्ने मेसिनबाट छापिन थाल्यो । सुरुमा ‘गोर्खापत्र’ को नामबाट प्रकाशित भए पनि १९८३ जेठ ४ गते ‘गोरखापत्र’ लेखियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा पुनः ‘गोर्खापत्र’ नामकरण भए पनि २०६३ वैशाख १८ बाट ‘गोरखापत्र’ नै लेख्न थालियो ।  गोरखापत्र नेपालको जेठो समाचारपत्र मात्र होइन नेपालमा फोटो पत्रकारिताको सुरुवातकर्ता पनि हो ।

वि.सं. १९८४ वैशाख १३ गते गोरखापत्रमा पहिलोपटक सर्वसाधारणको तस्बिर छापिएको थियो । श्री चन्द्र कामधेनु चर्खाद्वारा धागो कातिरहेकी वीरगन्जकी १२ वर्षीया सूर्यमती श्रेष्ठेनीको तस्बिर छापिएको दिनलाई नै आधार मानेर करिब दुई दशकदेखि प्रत्येक वर्षको वैशाख १३ गतेलाई राष्ट्रिय फोटो पत्रकारिता दिवसका रूपमा मनाइने गरिएको छ ।  गोरखापत्रका प्रथम तालुकवाला (व्यवस्थापक) पण्डित नरदेव पाण्डे हुन् र सुरुमा सम्पादकको नाम लेखिने चलन थिएन । वि.सं. १९९१ जेठ ५ गते गोरखापत्रमा पहिलो पटक सम्पादक ‘प्रेमराज’ भनी प्रकाशन भएको इतिहास छ । वि.सं.२०१२ भदौ १२ गतेबाट गोरखापत्रमा ‘प्रधानसम्पादक’ राखी प्रकाशन गरियो र पहिलो प्रधानसम्पादक लेख्ने गौरव बालकृष्ण समलाई मिलेको थियो ।  वि.सं.२००० बाट काठमाडौँमा ‘समाचारदाता’ राख्ने प्रचलन सुरु भयो । नेपाली पत्रकारिता इतिहासमा सन्ध्याकालीन समाचार दिने श्रेय पनि गोरखापत्र लाई नै छ । वि.सं. २०१९ कात्तिक २ देखि असोज २२ गतेसम्म बिहान र साँझ गरी एकै दिनमा गोरखापत्र दुई पटक प्रकाशन भएको थियो ।

राणा प्रधानमन्त्री जङ्गबहादुर राणा बेलायतबाट १९०८ सालमा फर्कंदा साथमा ल्याएको प्रेसबाट गोरखापत्रको प्रकाशन सुरु भएको हो । यो प्रेस ‘गिद्देप्रेस’ नामबाट परिचित छ । वि.सं. २०३८ मा वेभ अफसेट मेसिनबाट छपाइ सुरुभयो भने २०५९ असार १० बाट रङ्गीन कलेबरमा छापिन थाल्यो ।  बहुभाषिक पत्रकारिताको अभ्यास सुरु गरेर विश्व पत्रकारिताको इतिहासमा गोरखापत्रले नयाँ अभ्यास आरम्भ गरेको छ । वि.सं. २०६४ असोज १ गतेबाट ‘नयाँ नेपाल’ शीर्षक अन्तर्गत नेपालमा बोलिने राष्ट्र भाषा (मातृभाषा) हरूको प्रकाशन सुरु भई हाल ३८ वटा भाषामा समाचार सामग्री प्रकाशन हुँदै आएका छन् ।  राष्ट्रिय पत्रकारिता दिवसको घोषणा भएपछि गोरखापत्र संस्थानले २०७३ मा पहिलो पटक ५५ हजार ५५५ रुपियाँ राशिसहितको गोरखापत्र राष्ट्रिय पत्रकारिता पुरस्कारको स्थापना ग¥यो ।

नेपालको छापा पत्रकारितामा विशिष्ट योगदान पु¥याएका पत्रकारलाई प्रदान गरिने यस पुरस्कारबाट ध्र्रुवहरि अधिकारी, पी खरेल, भैरव रिसाल पुरस्कृत भइसक्नु भएको छ भने र यस वर्ष पोखराका पुण्य पौडेल पुरस्कृत हुँदै हुनुहुन्छ ।  गोरखापत्रका सहप्रकाशनहरूमा अङ्ग्रेजी भाषाको द राइजिङ नेपाल, मासिक पत्रिकाहरू मधुपर्क, युवामञ्च, मुना र गोरखापत्र अनलाइन संस्करण प्रकाशन हुँदै आएका छन् । गोरखापत्र प्रकाशनको ११९ वर्ष प्रवेशका अवसरमा गोरखापत्र परिवार समस्त पाठक, लेखक, विज्ञापनदाता व्यक्ति, सङ्घ–संस्था सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।