आज अक्षयतृतीया , जौको सातु सहित सर्बत खाने दिन !

प्रकाशित मिति:

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल वैशाख महिनाको २४ गते मंगलबार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । वसन्त ऋतु अन्तर्गत वैशाख शुक्लपक्षको तृतीया तिथि राति २।४९ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा रहेका छन् भने वृहस्पति धनु राशिमा छन् । रोहिणी नक्षत्र बेलुका ५।१२ बजेसम्म रहनेछ । आज अतिगण्ड योग र तैतिल करण रहेको छ । यसैगरी आज सूर्योदय ५।२२ मा छ भने सूर्यास्त बेलुका ६।४० बजे हुनेछ । चन्द्रमा आज वृष राशिमा छन् । आज परशुराम जयन्ती हो ।

आज अक्षयतृतीया तिथि हो । अक्षयको अर्थ कहिल्यै नाश नहुने भन्ने हुन्छ । वैशाख शुक्ल तृतीया तिथिका दिन पर्ने पर्व भएकाले अक्षय तृतीया भनिएको हो । अक्षय तृतीयाका दिन गरिएका कार्यको फल अक्षय अर्थात् कहिल्यै नाश नहुने शास्त्रमा बताइएको छ । त्यसैले यस्ता दिन शुभ पूण्य कार्य गर्नु उत्तम हुने गर्दछ । अक्षयतृतीयाका दिन गरिएका कार्य सफल हुने भएकाले यो दिन आफैमा एक मुहूत्र्त पनि हो । हरेन नयाँ कार्यको थालनी यस दिन गर्नु शुभ मानिएको छ । भविष्य पुराणमा सोमबार औसी, आइतबार सप्तमी, मंगलबार चतुर्थी र विहीबार अष्टमी तिथि परेको दिनलाई पनि अक्षया भनिएको छ । अर्थात् अमा वै सोमवारेण रविवारेण सप्तमी । चतुर्थी भौमबारेण अक्षयादपि चाक्षया ।। अर्थात् यी तिथि सहितको बार परेको दिनलाई पनि अक्षया भनिन्छ ।

अक्षयतृतीयका त्रेतायुगको आरम्भ भएको दिन पनि हो । वैशाखशुक्लतृतीयायां चन्द्रे रोहिणीभे द्वितीयप्रहरे शोभनयोगे त्रेतोत्पत्तिः ।।(काशी विश्वनाथ पञ्चाङ्ग, २०७१, पृ.२) अर्थात् त्रताय्गको आरम्भमा वैशाख शुक्ल तृतीया तिथि, रोहिणी नक्षत्रको द्वितीय प्रहर शोभनयोगमा त्रता युगको उत्पत्ति भएको हो । जुन समयमा भगान् श्रीराम चन्द्रको अवतार भएको थियो । जुन समय आज भन्दा आठ लाख,चौसट्ठी हजार एक सय अठार वर्षभन्दा पूर्व एक्काइस लाख पैसट्ठीहजार एक सय अठार वर्ष पूर्वको समय हो । यो समयमा विश्वामित्र, भगीरथ, दिलिप, मकरध्वज, दशरथ,राम, लवकुशले राज्य गरेका थिए । भगवान् श्रीराम, परशुराम वामन को पनि यही अवतार त्रेतायुगमा नै भएको हो । सत्य पछि त्रेता, त्रेतापछि द्वापर र द्वापर पछि कलि युगको पनि ५१२० औँ वर्षमा हामी हिडिरहेका छौँ ।

वैशाख शुक्ल तृतीयामा दान गरेको अक्षय हुन्छ भन्ने कुरा तिथ्यादि तत्त्वमा बताइएको छ : वैशाखे मासि राजेन्द्र शुक्लपक्षे तृतीयका । अक्षया सातिथिः प्रोक्ता कृत्तिकाराहिणीयुता । तस्यां दानादिकं पुण्यमक्षयं समुदाहृतम् ।। अर्थात् कृत्तिका वा रोहिणी नक्षत्रयुक्त अक्षय तृतीयामा गरिएको दान अक्षय पुण्यफलदायी हुन्छ । विशेषतः यस दिन शास्त्रले दानादि कार्यको विशेष फल बताएका छन् ।सर्वत सहितको जलपात्र दान गर्नाले अक्षय पूण्य प्राप्त हुने गर्दछ । यसैगरी जौको सातु दान दिएर खानाले पनि अक्षय पूण्य प्राप्त हुने शास्त्रीय वचन छ । यत्किञ्चिद्दीयते दानं स्वाल्पं वा यदि वा बहु । तत्सर्वमक्षयं यस्मात्तेनेयमक्षया स्मृता ।। अर्थात् जो थोरै वस्तु दान गरेपनि त्यो अक्षय दान हुन्छ । अर्थात् त्यसको शत प्रतिशत फल भोग गर्न पाइन्छ ।

अक्षय तृतीयाका दिन धर्मघट दान गर्नाले पनि अक्षय पुण्य प्राप्त हुने शास्त्रीय वचन रहेको छ । एष धर्मघटो दत्तो ब्रह्माविष्णुशिवात्मकः । अस्य प्रादानातृप्यन्तु पितरोऽपि पितामहाः ।। गन्धोदकं तिलैर्मिश्रं सान्नं कुम्भं फलान्वितम् । पितृभ्यः संप्रदास्यामि ह्यक्षय्यमुपतिष्ठतु ।। ब्रह्मा,विष्णु र रुद्रात्मक धर्मघट दान गर्नाले पितृ, पितामहादि सम्पूर्ण पितृ तृप्त हुन्छन् भन्ने शास्त्रीय मत रहेको छ । धर्मघट भनेको जल,तिल,फल, अन्न सहितको कुम्भ अर्थात् कलश हो । जसको दानले पितृले अक्षयतृप्ति प्राप्त गर्दछन् भन्ने शास्त्रीय वचन रहेको छ । यव अर्थात् जौ दान गर्नाले पनि अक्षय पुण्य प्राप्त हुन्छ । तस्यां कार्यो यवैर्होमो यवैर्विष्णुं समर्चयेत् । यवान् दद्यात् द्विजातिभ्यः प्रयतः प्राशयेद्यवान् ।। पूजयेच्छङ्करं गङ्गां कैलासञ्च हिमालयम् । भगीरथञ्च नृपतिं सागराणां सुखावहम् ।। अर्थात् जौ को हवन, दान र प्राशन गर्नाले मानव जीवन सुखी हुन्छ भनी ब्रह्मपुराणमा बताइएको छ । यस दिन गन्दनादि लेपन शरीरमा गर्नाले पनि शुभ फल हुने बताइएको छ । अर्थात् भनौ सौन्दर्य प्रसाधनका लागि पनि यो दिन उत्तम मानिएको छ : वैशाखस्य सिते पक्षेृ तृतीयाक्षयसंज्ञिता । तत्र मांलेपयेद्गन्धैर्लेपनैरतिशोभनै ।। अर्थात् यस दिनको चन्दनादि लेपनले शरीरमा पुष्टि प्राप्त हुन्छ भनी स्कन्दपुराणमा बताइएको छ ।

अक्षय तृतीया धार्मिक एवं साँस्कृतिक दुवै दृष्टिले महत्वपूर्ण दिन हो । यस दिन जौको सातु सहित सर्वत खाने गरिन्छ । जसले शरीरलाई गर्मीसँग लड्ने रोग प्रतिरोधात्मक क्षमता प्रदान गर्दछ । त्यसैले यस पर्वको वैज्ञानिक महत्त्व पनि रहेको पाइन्छ । प्रातः स्नान पूर्वक नित्य कर्म सकी सर्वत र जौको सातु तयार गरी योग्य ब्राह्मणलाई संकल्प पूर्वक दान गरी आफूले पनि प्रसाद स्वरूप जौको सातु र सर्वत खाने चलन रहेको छ । जुन चलन त्रेतायुगदेखि नै चलेको पाइन्छ । यसरी जलपात्र सहित जौको सातु दान गर्नाले अक्षय पूण्य प्राप्त हुने धार्मिक मान्यता पनि रहेको छ । जौ को सातु र सर्वत खाने साँस्कृतिक पर्वको गरिमालाई पनि यस दिनले उत्तकै रूपमा बहन गरेको पाइन्छ । हरेक शुभ कार्यका लागि यो दिन उत्तम मानिएको छ । शुभ कर्मको फल अक्षय हुने भएकाले अर्थात् शतप्रतिशत प्राप्त हुने भएकाले पनि यस दिनको नाम अक्षय तृतीया सार्थक छ ।