मानवीय गतिविधिका कारण १० लाख प्रजाति लोप हुने खतरा, पृथ्वी संकटतर्फ

प्रकाशित मिति:

संयुक्त राष्ट्रसङ्घको एउटा अध्ययन प्रतिवेदनले जमिन, समुद्र तथा आकाशमा मानवीय गतिविधिको नराम्रो असर परेको देखाएको छ। दश लाख जनावर तथा बोटबिरुवाका प्रजाति लोप हुने खतरामा छन्। राष्ट्रसङ्घको प्रतिवेदनका अनुसार यसअघि कहिल्यै नसोचिएको गतिमा सर्वत्र प्रकृतिमा ह्रास आइरहेको छ र हामीलाई चाहिने खाद्यान्न तथा ऊर्जाको माग त्यसका लागि प्रमुख जिम्मेवार रहेका छन्। यो क्रमलाई रोक्न सकिन्छ, तर त्यसका लागि मान्छेले प्रकृतिप्रति गर्ने व्यवहारमा आमूल परिवर्तन गरिनुपर्ने प्रतिवेदनले औँल्याएको छ।

हाम्रा बालीनालीमा परागसेचन गराउने मौरीदेखि पानी सञ्चित गर्ने जङ्गलसम्ममा मानवले पुर्‍याइ रहेको क्षतिबारे प्रतिवेदनले उल्लेख गरेको छ। १५ हजार सन्दर्भ सामग्री प्रयोग गरिएको र तीन वर्ष लगाइएको उक्त अध्ययन प्रतिवेदन १८ सय पृष्ठको छ। समरी फर पोलिसी मेकर्स अर्थात् नीति निर्माताहरूका लागि सारांश शीर्षकमा ४० पृष्ठको सारसङ्क्षेप प्यारिसमा भएको एउटा बैठकमा आज सार्वजनिक गरिएको छ। त्यसलाई मानव जातिले आफ्नो एकमात्रै बासस्थानप्रति अपनाएको रवैया बारेको सम्भवतः सबैभन्दा सशक्त आरोप भनिएको छ। प्रतिवेदनले भनेको छ( इतिहासदेखि पृथ्वी मानवीय गतिविधिबाट मारमा परेको छ र पछिल्लो ५० वर्षमा ती चोटहरू ठूलो घाउको रूपमा परिणत भएको छ।

सन् १९७० यता विश्वको जनसङ्ख्या दोबर भएको छ र विश्व अर्थतन्त्र चार गुणाले बढेको छ भने अन्तर्राष्ट्रिय व्यापार १० गुणाले बढेको छ। बढ्दो विश्वलाई गाँस र कपास तथा ऊर्जा पुर्‍याउनका निम्ति खासगरी उष्णप्रदेशीय क्षेत्रका वनलाई आश्चर्यलाग्दो गतिमा विनाश गरिँदैछ। सन् १९८० देखि २००० को अवधिमा १० करोड हेक्टर वन मासिएको छ। हाम्रा शहरहरू तीव्र गतिमा बढिरहेका छन् र सन् १९९२ देखि शहरको क्षेत्र दुई गुणाले बढिरहेको छ। यी सबै मानवीय गतिविधिले पहिलाभन्दा ठूलो सङ्ख्यामा प्रजातिहरू मरिरहेका छन्। विश्व प्रक्षेपणका अनुसार करिब २५ प्रतिशत जनावर तथा बोटबिरुवा लोप हुने खतरामा छन्।