प्रचण्डले भने- सरकारलाई सबैले धन्यवाद दिनुपर्छ

प्रकाशित मिति:

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक वर्षमा गरेको कामका लागि सरकारलाई धन्यवाद दिनुपर्ने बताएका छन् । सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रचण्डले ‘समृद्ध नेपाल र सुखी नेपाली’ राष्ट्रिय आकांक्षालाई सम्बोधन गर्न सरकारले गरेको प्रयासलाई सबैले धन्यवाद दिनुपर्ने बताएका हुन् । ‘आफ्नै पार्टीकै नेतृत्वको सरकार भएकाले मैले भन्नु औपचारिक जस्तै देखिन्छ,’ प्रचण्डले भने, ‘त्यही पनि यो एक वर्षमा उसले समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा सम्बोधन गर्नका लागि गरेको प्रयासका निम्ति म धन्यवाद भन्न चाहन्छु ।’

सरकारले मौलिक हकसँग सम्बन्धित कानूनहरूको निर्माण गरेर धेरै संवैधानिक विवाद हल गरेको प्रचण्डको भनाइ थियो । यसका लागि उनले प्रतिपक्षले पनि सरकारलाई धन्यवाद दिनुपर्ने बताए । ‘वैदेशिक सम्बन्धहरूलाई कसरी सन्तुलित बनाउने भन्ने समस्या थियो, बीचमा संविधान निर्माणको प्रक्रियामा देखा परेका तिता मिठा अनुभवहरूबाट सिक्यौं,’ यो सरकारले छिमेकीसँगको सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याएको बताउँदै प्रचण्डले भने, ‘नयाँ सरकार बनिसकेपछि छिमेकीसँगको सम्बन्धलाई सन्तुलित र राष्ट्रिय हित अनुकूल अघि बढाउने प्रयास भएको छ, यसले समृद्धिको ऐतिहासिक आधार तयार भएको छ ।’