श्रीकृष्ण सिग्देल
स्याङ्जा—१९ साउन
दुधले मुल्य नपाएर किसानले दुध बाटोमा पोख्ने गरेका घट्नाहरु बारम्वार बाहिर आइरहेका छन् । दुधको महत्व बुझाउन नसक्दा दुधको मुल्य नपाउनुले किसानहरु मर्कामा पर्दै आएका छन् । दुधको पोष्टिकतत्वका बारेमा सचेतना फैलाउन सकेमा दुधले बजार पाउने विश्वास किसानहरुले गरेका छन् । स्याङ्जाको भीरकोट नगरपालिका स्थित शुभलक्ष्मी वचत तथा ऋण सहकारी र भीरकोट नगरपालिकाको संयुक्त आयोजनामा दुध सम्वन्धी सचेतना कार्यक्रममा किसानहरुले सो कुरा सुझाएका हुन् । भीरकोट नगरपालिकालाई दुधमा आत्मनिर्भर बनाउने उदेश्यले सहकारीले टोल टोलमा गाई वितरण गरेको छ । नगरपालिका भित्र गाईको दुधले मुल्य नपाएपछि सहकारीले पोखरा दुध पु¥याउन बाध्य भएको छ ।
दुधको महत्व नबुझिदिदा दुध बाहिर पठाउनु परेकोले दुध उत्पादक र दुध उपभोक्ता विच अन्तरक्रिया राखेर दुधलाई भीरकोट नगरपालिकामा खपत गर्ने योजना अनुरुप यो कार्यक्रम गरिएको सहकारीका अध्यक्ष भक्तबहादुर केसीले बताए । दुध स्वास्थ्यका लागि फाईदा हुदा हुदै पनि विभिन्न केमिकल मिसाएको दुध बजारमा विक्रि हुने तर किसानले उत्पादन गरेको दुधले मुल्य नपाउनु दुखद भएको अध्यक्ष केसीले बताए । किसान दुध उत्पादनमा अग्रसरता देखिएपनि उपभोक्ताले किसानको दुधमा चासो देखिएन अध्यक्ष केसीले भने,“कुन दुधमा फाईदा र कुन दुधमा बेफाईदा छ भन्ने विषय उपभोक्तालाई बुझाउनु जरुरी छ ।” ताजा दुधमा भन्दा पनि प्याकेजिङ दुधले बजार पाउदा किसान प्रत्यक्ष मर्कामा परेका छन् केसीले भने ।
करिव ५० जना सहभागिता रहेको दुध सम्वन्धी सचेतना कार्यक्रममा भीरकोट नगरपालिकाका नगर उपप्रमुख सिमा केसी कर्मचार्यले किसानको दुधलाई स्थानीय बजारमा विक्रि वितरण गर्ने योजना नगरपालिकाले तयार पार्न लागेको बताईन् । दुध उत्पादक किसान निरासा नवनौ उपप्रमुख केसीले भनिन्,“किसानको हौसला बढाउने काम स्थानीय सरकारले गर्नेछ ।” नगरपालिकालाई दुधमा आत्मनिर्भर बनाएर स्वदेशमै रोजगारी सिर्जना गर्ने अभियानमा नगरपालिका रहेको छ केसीले भनिन् । हरेक टोल, टोल र बजारका विभिन्न क्षेत्रमा दुधको महत्व, यसका फाईदाका बारेमा सचेतना जगाउने काम नगरपालिकाले गर्ने केसीको भनाई छ ।
शुद्ध दुध खाऔं, स्वास्थ्य बनौ भन्ने मुल नाराका साथ आयोजना गरिएको एकदिने सचेतना कार्यक्रममा दुधको अवस्था, दुधको फाईदा र दुधबाट आर्जन गर्न सकिने आर्थिक उपार्जनका बारेमा पशु स्वास्थ्य अधिकृत सुरेश कुमार श्रेष्ठले सहजीकरण गरेका थिए । कुन घाँस प्रयोग गर्दा दुधको प्रोटिनको मात्र बढ्छ भन्ने विषयमा किसानहरुलाई श्रेष्ठले सुझाएका थिए । सरकारी निकायबाट दुध सम्वन्धी स्वास्थय फाईदा र बेफाईदाका बारेमा सचेतना फैलाईदिन किसानहरुले आग्रह गरेका छन् । दुग्ध उत्पादक संघका केन्द्रिय सदस्य धर्मराज अर्याल र सहकारीका व्यवस्थापक किरण केसीले दुधबाट कसरी फाईदा लिन सकिन्छ भन्ने विषयमा किसानहरुलाई सहजीकरण गरेका थिए ।