मुख्यमन्त्रीका ‘छोरा’ एसओएसमा भर्ना

प्रकाशित मिति:

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बाले गएको वर्ष अभिभावकत्व लिएका अभिषेक नेपालीलाई पोखरास्थित एसओएस हर्मन माइनर स्कुलमा भर्ना गराएका छन्। अघिल्लो वर्षको भर्ना अभियानमा मुख्यमन्त्री गुरुङले श्रीकृष्ण माविल मासबारमा अध्ययनरत अभिषेक र शिला जिरेलको अभिभावकत्व ग्रहण गरेका थिए।

यो वर्ष २ उत्तीर्ण भएका अभिषेकलाई मुख्यमन्त्री गुरुङले ३ कक्षाबाट एसओएसमा भर्ना गरेका हुन्। मुख्यमन्त्री गुरुङले सोमबार अभिषेकको आमासहित एसओएसमा पुगेर कक्षा ३ मा भर्ना गराएका छन्। अभिषेककी २ वर्षीय बहिनी अस्मिता पनि एसओएसकै बालग्राममा छिन् भने दाजु अभिनाष श्रीकृष्ण माविकै पढ्छन्। एसओएस अझ बढी असहाय, विपन्न र परिवारविहीनहरुको स्कुल भएकाले अभिषेकलाई यहाँ भर्ना गरेको मुख्यमन्त्री गुरुङले बताए। उनले भने,‘यहाँ अझ बढी अभिषेकको हेरचाह हुनेछ भनेर भर्ना गरेको हुँ।’

विपन्न परिवारका अभिषेकको बुबाको गत वर्ष मृत्यु भएको हो। मुख्यमन्त्री गुरुङले अभिभावकत्व लिएपछि अभिषेकको आमा कमलालाई समेत जागिर लगाइदिएका छन्। एसओएसका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठले विद्यालयको अवस्था जानकारी गराउँदै अब प्रदेश र स्थानीय सरकारको पनि सहयोग आवश्यक पर्ने बताए। एसओएसमा अहिले ९ सय विद्यार्थी छन्। तीमध्ये २ सय ७२ जना बालग्राममा बसेर निशुल्क पढिरहेका छन्। उनीहरुमध्ये अभिभावकविहीन, अति गरिब र विपन्न परिवारका १ सय ३२ जना विभिन्न संस्था तथा व्यक्तिको सहयोगमा पढिरहेका छन्।