शिक्षकलाई ६ कक्षाका विद्यार्थीले सिकाउनुपर्ने विद्यालय हाम्रै नेपालमा !

प्रकाशित मिति:

जनकपुरधाम – विद्यालयमा शिक्षकले विद्यार्थीलाई सिकाउँछन् । विद्यालयको मुख्य उद्देश्य पनि यहीँ हो । विद्यार्थीले शिक्षकलाई सिकाउनुपर्छ भन्दा सहजै पत्याउन सकिँदैन । तर महोत्तरीको मनरा सिसवा नगरपालिका–४ जाउखस्थित विद्यासति आधारभूत विद्यालयमा विद्यार्थीले शिक्षकलाई सिकाउने गरेका छन् ।

शिक्षकहरू जिम्मेवारीमा खरो नउत्रिएपछि विद्यार्थीले शिक्षकलाई काम कर्तव्यबारे बताइदिनुपर्ने अवस्था आइलागेको छ । सामान्य रुपमा सिकाएर बताएर मात्रै शिक्षकको चेत खुल्दैन । तसर्थ विद्यार्थीले विद्यालयमा तालाबन्दी नै गरेर शिक्षकलाई सिकाउनुपर्ने भएको छ ।

६ कक्षासम्म पढाइ हुने विद्यालयमा विद्यार्थीलाई दिवाखाजा नदिएको, पठनपाठन नहुने गरेको, ७ कक्षाको अनुमति नहुँदा पनि ट्रान्सफर सर्टिफिकेट नदिएको भन्दै ५ र ६ कक्षा उत्तीर्ण गरेका विद्यार्थीले वैशाख २३ गते विद्यालयमा तालाबन्दी गरे । विद्यालयका प्रधानाध्यापक उमेश ओझाका अनुसार विद्यार्थीले केही डेस्क बेन्च भत्काउनुका साथै गेट समेत भत्काइदिएका छन् । विद्यार्थीले प्रधानाध्यापक र शिक्षकलाई सिकाउने शैली आक्रामक देखियो ।

८ वटा विषय भएपनि ३ घन्टीभन्दा बढी कहिल्यै पनि पढाइ नै नहुने गरेको विद्यार्थीले गुनासो गर्छन् । विद्यालयको ५ कक्षामा अध्ययनरत साधु नदाफले भने, ‘मेरो कक्षामा मोहन सर र किरण म्यामबाहेक कसैले पनि पढाउनुभएको छैन । २ वटा विषय मात्र पढाइ हुन्छ ।’ विद्यालयको ६ कक्षामा अध्ययनरत विद्यार्थी दिपेशकुमार सहनीले भने, ‘सामाजिक, विज्ञान र अंग्रेजीबाहेक कुनै अन्य विषयको हालसम्म पढाइ नै भएको छैन ।’ ५ कक्षामा हुँदा ३ वटा घन्टीसम्म पढाइ भएको त उनलाई स्मरण पनि छैन । विद्यालयको ५ कक्षामा अध्ययनरत विद्यार्थी निरञ्जनकुमार सहनीले भने, ‘टिफिनसम्म कहिलेकाहीँ कुनै–कुनै विषयको पढाइ भयो तर टिफिनपछि त कहिल्यै पढाइ नै भएन ।’ प्रधानाध्यापकलाई भन्न जाँदा ‘शिक्षकको व्यवस्था गर्दैछु’ भन्ने गरेको तर शिक्षकको व्यवस्था कहिल्यै नहुने गरेको स्थानीय अभिभावक देवलाल सहनीले बताए ।

विद्यार्थीलाई दिवा खाजाका लागि नगरपालिकाले फागुन महिनादेखि नै निकासा गरेपनि विद्यार्थीलाई हालसम्म खाजा नखुवाइएको अभिभावक सहनीले बताए । ‘विद्यालयमा कार्यालय सहयोगी हुँदाहुँदै विद्यार्थीलाई पानी ल्याउन भन्छन्,’ उनले भने, ‘यति मात्र होइन, शौचालयको समेत व्यवस्था नहुँदा विद्यार्थीलाई समस्या हुने गरेको छ ।’

एकातिर पढाइ नहुने र अर्काेतिर विद्यार्थीलाई अर्काे विद्यालयमा जान नदिने गरिएको छ । विना अनुमति विद्यार्थीलाई ७ कक्षामा आफ्नै विद्यालयमा राख्न खोजिएको विद्यार्थीको आरोप छ । ७ कक्षामा अन्यत्र पढ्नका लागि ट्रान्सफर सर्टिफिकेट माग्न जाँदा नदिएपछि विद्यार्थीले तालाबन्दी गरेको स्थानीय चन्द्रभूषण मौवारले बताए । उनका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रराज प्रसाद सिंह र प्रअ उमेश ओझाले व्यापक आर्थिक हिनामिना गरिएको छ ।

‘करीब २५ वर्षदेखि विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष रहेका सिंहले सामुदायिक विद्यालयलाई निजी विद्यालयजस्तो बनाएका छन्,’ मौवारले भने, ‘विद्यालयको आम्दानीको स्रोतलाई अध्यक्ष सिंहले विद्यालयको विकासभन्दा पनि निजी विकासको साधन बनाएका छन् ।’ विद्यालयको आफ्नै ५ विघाभन्दा बढी जमिन छ । त्यसबाट करीब मासिक २५ हजार रुपैयाँभन्दा बढी रुपैयाँ आम्दानी हुने गर्छ । तर त्यो सबै रकमको अध्यक्ष सिंहले दुरुपयोग गर्दै आएको स्थानीयको आरोप छ ।

दिवाखाजाबाट विद्यार्थी वञ्चित

सरकारले २ नम्बर प्रदेशका विद्यार्थीका लागि प्रत्येक दिन खाजावापत १५ रुपैयाँ प्रतिविद्यार्थी पठाउने गरेको छ । विद्यार्थी भर्ना भएपनि छाड्ने गरिएको र विद्यालयमा आएको विद्यार्थी खाजा खान भन्दै घर गएर नफर्किने प्रवृति रोक्न सरकारले खाजावापत रकम उपलब्ध गराएको छ । रकम संघीय सरकारले स्थानीय तहमार्फत विद्यालयमा पठाउने गरेको छ । रकमबाट प्रत्येक दिन विद्यालयमै खाजा बनाएर विद्यार्थीलाई खुवाउने प्रावधान छ । तर विद्यालयमा हालसम्म पनि दिवा खाजा नदिएको विद्यालयका प्रअ ओझाले स्वीकार गरे । गत फागुन १३ गते नगरपालिकाले खाजा वापतको रकम निकासा गरेको भएपनि हालसम्म कुनै पनि विद्यार्थीलाई खाजा नखुवाइएको उनले बताए । ओझाका अनुसार गत चैत्र २४ गते विद्यालयको व्यवस्थापन समिति, अभिभावक समेतको बैठक बसेर विद्यार्थीको खाजा बापतको रकम नगद नै अभिभावकलाई बुझाउने निर्णय गरिएकाले खाजा नखुवाइएको उनले बताए । तर एउटा प्रयोजनका लागि आएको बजेट अर्काे प्रयोजनमा खर्च हुनु अवैधानिक हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिंह, सदस्य सुकराम साफी, कालो देवी, ललिता देवी, सकुन्तला देवी, सदस्य समेत रहेका वडा नम्बर ४ का वडाध्यक्ष अताउल राइन, वडा सदस्य महेन्द्र महतो र प्रअ ओझा समेतको उपस्थितिमा बैठक बसेको थियो । बैठकले कक्षामा उपस्थित विद्यार्थी संख्या अनुसार खाजावापत नगद रकम नै अभिभावकलाई उपलब्ध गराउने र बाँकी बचेको रकम विद्यालयको खातामा सञ्चित गर्ने निर्णय गरेको छ ।
‘नगद रकम वितरण गर्न मिल्दैन, स्रोतव्यक्तिले प्रष्ट रुपमा निर्देशन दिएको छ भनेर भन्दा पनि मेरो कुरा कसैले सुनेनन्,’ प्रअ ओझाले भने, ‘त्यसकारण हालसम्म न त नगद दिइएको छ, न त खाजा नै खुवाइएको छ ।’ व्यवस्थापन समितिका अध्यक्ष सिंहले भने, ‘विगतमा खाजा खुवाउन सकिएन । फागुन १५ गतेदेखि हालसम्मको विद्यार्थी उपस्थिति संख्या अनुसार नगद नै वितरण गर्छौं ।’ आगामी महिनादेखि ठेक्का आह्वान गरेर विद्यार्थीलाई विद्यालयमै खाजाको व्यवस्था मिलाउने उनले बताए ।

कक्षा ७, शिक्षक ६ !

२०१० सालमा स्थापना भएको विद्यालय अझैं पनि आधारभूत विद्यालयमै सीमित छ । स्थानीय क्षेत्रकै पुरानो विद्यालय रहेको भएपनि विद्यालयको कहिल्यै स्तरोन्नति हुन सकेन । चालू शैक्षिक सत्रमा विद्यालयमा २ सय २२ जना विद्यार्थीको भर्ना गरिएको छ । बाल विकासमा २६ जना, १ कक्षामा ३८ जना, २ कक्षामा ३३ जना, ३ कक्षामा ३० जना, ४ कक्षामा ३२ जना, ५ कक्षामा २७ जना र ६ कक्षामा ३६ जना विद्यार्थीको भर्ना भएको प्रअ ओझाले बताए ।

शिक्षकहरू प्रअ ओझाबाहेक स्थायी रामचन्द्र भगत, अनमोल राय र राहतका शिक्षक किरण कुमारी सहनी मात्र छन् । बाल विकासमा अन्जु ठाकुर र अन्जु महतो छन् । कार्यालय सहयोगीमा अरुण कुमार सहनी छन् । १ देखि ६ कक्षासम्म कम्तिमा पनि ६ जनाभन्दा बढी शिक्षक हुनुपर्नेमा प्रअसहित ३ जना शिक्षक मात्र छन् । प्रअले विद्यालयको प्रशासनिक काम गर्नेदेखि सदरमुकाम जानुपर्ने हुँदा विद्यालयमा पढाइ नै हुँदैन । ‘४ र ५ कक्षाको पाठ्यक्रम एकैनासको भएकाले संयुक्त पढाइ हुने गर्छ,’ प्रअ ओझाले भने, ‘शिक्षक नै छैन त मैले के गर्ने ?’ भएका शिक्षकलाई पनि कक्षामा गएर पढाउन निर्देशन दिँदा कसैले पनि नटेर्ने गरेकाले केही पनि गर्न नसकिएको भन्दै उनले लाचारी देखाए ।

व्यस्थापन समितिमा एकछत्र राज !

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनका लागि विद्यालयको अभिभावक हुनुपर्ने प्रष्ट प्रावधान छ । तर विद्यालयमा ‘गुड मर्निङ’ उपनामले चिनिने राजपा नेपालका केन्द्रीय सदस्य समेत रहेका इन्द्रराज प्रसाद सिंह (इन्दल सिंह) को एकल कब्जा छ । विगत २५ वर्षभन्दा पनि बढी समयदेखि उनी नै विद्यालयमा अध्यक्ष बन्दै आएको स्थानीयको आरोप छ ।

अध्यक्ष भएर उनले विगतमा आफ्ना भाइ, भाइबुहारी र छोरीलाई शिक्षकमा नियुक्ति दिलाउन सफल भए । स्थानीय मौवारका अनुसार सिंहले अध्यक्ष पदको दुरुपयोग गर्दै आफ्ना भाइ महेन्द्रप्रसाद सिंह, भाइबुहारी निलुदेवी ठाकुर, छोरीद्वय रुबी कुमारी र ममताकुमारी सिंहलाई शिक्षकमा भर्ना गर्न भ्याए । उनका भाइ महेन्द्रको निधन भइसकेको छ ।

प्रअ ओझाका अनुसार अध्यक्षकी छोरी ममता सिंह अन्यत्र विद्यालयमा काज भन्दै खटिएकी छन् । त्यस विद्यालयको स्वीकृत दरबन्दीका स्थायी शिक्षक लक्ष्मेश्वर ठाकुर पनि अन्य विद्यालयमा काजमा खटेका छन् । दरबन्दी भएको विद्यालयमा शिक्षक अभाव भइरहँदा अन्यत्र विद्यालयमा काजमा खटिनु पनि अनौठो छ । यति हुँदाहुँदै उनले अझै आफ्ना छोरा रविन सिंहलाई पनि शिक्षक बनाउने षड्यन्त्र गरिरहेको स्थानीयको आरोप छ । केही महिना अघिदेखि उनका छोरा पनि विद्यालयमा पढाउन भन्दै आउने–जाने गरेको स्थानीय बताउँछन् । ‘अध्यक्ष ज्यूका छोरा विद्यालयमा सहयोग गर्न भन्दै पढाउन आउनुभएको थियो, त्यसको उहाँले तलब पनि लिनुभएको छैन,’ प्रअ ओझाले भने । आफूले विद्यालयका लागि जग्गा किनेर दिएको हुनाले आफू दाता परिवार र आफ्नो पैतृक योगदान समेत रहेकाले अध्यक्षमा चयन हुँदै आएको सिंहले बताए । आफ्नो भाइ, बुहारी वा छोरीको नियुक्तिका सन्दर्भमा उनले भने, ‘सबै योग्य थिए । अध्यापन अनुमतिपत्र पाएका र स्रोतव्यक्तिले परीक्षा लिएर पास भएपछि मात्र नियुक्ति गरेको हो ।’-लोकान्तर बाट साभार