प्रियंका गान्धीले दिइन् मोदीलाई दुर्योधनको संज्ञा

प्रकाशित मिति:

बुटवल – भारतको कांग्रेस महासचिव प्रियंका गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई दुर्योधनको संज्ञा दिँदै उनले शहीद पिता राजीव गान्धीको अपमान गरेको बताएकी छन् । प्रियंकाले हरियाणाको अम्बालामा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा यसो भनेकी हुन् । सभालाई सम्बोधन गर्ने क्रममा प्रियंकाले महाभारतको प्रसंग निकालिन् । उनले भनिन्, ‘घमण्ड त दुर्योधनको पनि टुटेको थियो, मोदी को हुन् र ? देशले अहंकारलाई कहिले पनि माफ गर्दैन । मोदीको जस्तै अहंकार दुर्योधनमा पनि थियो । भगवान् कृष्णले उनलाई सम्झाउन जाँदा उनलाई पनि दुर्योधनले बन्दी बनाउने प्रयास गरेका थिए ।’

त्यसै क्रममा प्रियंकाले राष्ट्रकवि दिनकरको कविता पनि पढेर सुनाइन् । उनले भनिन्, ‘दिनकरजीका केही पंक्ति छन् – मनुष्यमाथि नाशको बादल छाएपछि विवेक शुरूमै मारिन्छ । पीएम मोदीलाई अहिले यही भएको छ । उनको विवेक मरेको छ त्यसैले उनी यस्तो बयान दिइरहेका छन् । मेरो परिवारविरुद्ध विषवमन गरिरहेका छन् ।’ प्रियंका गान्धीले पिता राजीव गान्धीमाथि मोदीले दिएको बयान कदापि सह्य नहुने बताइन् । उनी पीएम भएकाले सोचेर मात्र बोल्नुपर्ने र यस्ता बयान उनका लागि शोभादायी नभएको प्रियंकाले बताइन् । यसअघि नरेन्द्र मोदीले राजीव गान्धी महाभ्रष्ट नेता भएको भनी बयान दिएका थिए । – एजेन्सी