घरेलु मैदानमा नेपालले अमेरिका र ओमानसँग त्रिकोणात्मक सिरिज खेल्ने

प्रकाशित मिति:

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा अमेरिका र ओमानसँग त्रिकोणात्मक सिरिज खेल्ने भएको छ । आईसीसीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपालले विश्वकप लिग-२ अन्तगर्तका खेलमध्ये अमेरिका र ओमानसँग पहिलो सिरिज आगामी माघ २२ गतेदेखि २९ गतेसम्म खेल्ने भएको हो ।
सिरिजको मिति तय भएसँगै नेपालका पूर्वप्रशिक्षक पुबुदु दासानायके अमेरिकन टोलीको प्रतिनिधित्व गर्दै नेपाल आउनेछन् । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल हुने आईसीसीले विज्ञप्तिमा उल्लेख गरेको छ ।

त्रिकोणात्मक सिरिजपछि नेपालले जुन ९ देखि १६ सम्म पपुवा न्यूगिनी र युएईसँग अर्को सिरिज खेल्नेछ । यस्तै अप्रिल २० देखि २७ सम्म नामिबियामा स्कटल्याण्ड र नामिबियासँग पनि नेपालले सिरिज खेल्ने बिज्ञप्तीमा उल्लेख छ । २०२० जुनमा नै स्कटल्याण्ड, नेपाल र नामिबियाबीच सिरिज हुने उल्लेख छ । तर कहाँ गर्नेबारे आइसीसीले टुंगो लगाएको छैन् । यस्तै सेप्टेम्बरमा नामिबिया, अमेरिका र पपुवा न्यूगिनीबीच सिरिज हुने बताए पनि कहाँ हुने उल्लेख गरिएको छैन् । यस्तै २०२१ को जनवरीमा नेपालले अमेरिका र ओमानसँग सिरिज खेल्ने आईसीसीले उल्लेख गरेको छ । लगत्तै २०२१ को फेब्रुअरीमा पनि नेपालले पपुवा न्यूगिनी र युएईसँग सिरिज खेल्ने आईसीसीको तालिका छ ।

यस्तै २०२१ को अगस्टमा नेपाल, ओमान र अमेरीकाबीच सिरिज हुनेछ । २०२१ को नोभेम्बरमा नेपाल, स्कटल्याण्ड र नामिबिया तथा २०२२ को जनवरीमा युएई, पपुवा न्यूगिनी र नेपालकाबीच सिरिज हुनेछ । हरेक सिरिजमा नेपालले दुबै देशसँग २-२ पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछ । सात टोली सहभागी हुने प्रतियोगिताको शीर्ष तीनमा रहने टोलीले आईसीसी विश्वकप छनोटमा स्थान बनाउनेछन् ।