गुल्मी दरवार गाउंपालिकाद्धारा कार्य प्रगती विवरण सार्वजनिक

प्रकाशित मिति:

गुल्मी दरवार गाउँपालिकाले गत आर्थिक वर्षमा गाउँपालीकावाट भए गरेका क्रियाकलापहरुको प्रगती विबरण सार्बजनिक गरेको छ । गाउँपालिकाले पत्रकार सम्मेलन मार्फत एक बर्षको अवधिमा केहि नितिगत अष्पष्टता, कानूनको अभाव लगायत समस्याले अन्यौलता देखिए पनि गत आर्थिक वर्षमा गाउँपालिकाद्वारा गरिएका नितिगत व्यवस्थाहरु सार्वजनिक गरेको हो । गुल्मी दरवार गाउँपालिकाले गत आर्थिक बर्षमा कुल २४ करोड ६९ लाख ५० हजार ५ सय ४ रुपैया ४० पैसा बजेटको कार्यक्रम तर्जुमा गरेको थियो । जसमध्ये १० करोड १ लाख २३ हजार शसर्त अनुदान र १४ करोड ६८ लाख २७ हजार ५ सय रुपैया समानीकरण अनुदान प्राप्त गरेको गाउँपालिका अध्यक्ष अशोक थापाले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । समानीकरण अनुदानबाट ११ करोड ९३ लाख ३३ हजार ५ सय र पूँजिगत खर्चमा २ करोड ७४ लाख ९४ हजार चालु खर्चमा विनियोजन गरिएको थियो । सशर्त अनुदान तर्फ १० करोड १ लाख २३ हजार मध्ये ९ करोड ७५ लाख ४७ हजार ५सय ४३ रुपया खर्च भएको बताईएको छ ।

गाउँपालीकाले कुल बजेटको ८७ प्रतिशत रकम खर्च भएको र बित्तिय प्रगति ९२ दशमलव ४ प्रतिशत गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी गराएका छन् । एक वर्षको अवधिकामा कार्यालयमा डिजिटल नागरिक बडापत्र, डिजिटल बोर्ड, डिजिटल विद्युतिय हाजिरी, प्रत्येक वडामा नागरिक बडापत्रको व्यवस्था, सार्वजनिक सुनुवाई, सूचना अधिकारी र गुनासो सुन्ने अधिकारीको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष थापाले बताए ।

थापाका अनुसार गाउँपालिकाले २७ वटा कानूनहरुतर्जुमा गरी कार्यान्वयमा ल्याईएकोमा १७ वटा कानूनहरु राजपत्रमा प्रकाशित गरिसकिए र अन्य कानूनहरु प्रकाशित गर्ने क्रममा रहेको बताईएको छ । कार्यालयको सुरक्षा व्यवस्था र सेवा प्रवाहलाई निगरानी गर्न कार्यालय परिसरमा सिसि क्यामरा जडान गर्नुका साथै कार्यालय परिसर र सवै वडाहरुमा फ्रि ईन्टरनेट सेवा जडान गरिएको गाउँपालिका सुचना अधिकारी सुरेश खनालले बताएका छन् । गाउँपालिकाले गत आर्थिक वर्षमा सभाद्वारा स्वीकृत ४ सय ४४ योजनाहरु मध्ये ४ सय १० वटा योजनाहरु कार्यन्वयन भएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए । यस आर्थिक वर्षमा गाउँपालीकाले शिक्षा, स्वास्थ्य, कृषि र पशुपालनमा नयाँ योजनाहरु बनाएर अघि बढ्ने लक्ष्य लिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।