आजको खेलमा के गर्लान् सन्दीप लामिछाने ?

प्रकाशित मिति:

भारत – भारतमा भइरहेको आइपिएल टी–२० क्रिकेटको इलिमिनेटर खेलमा बुधबार राति नेपाली युवा ढुकढुकी सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादसंग खेल्दैछ । लिगमा तेस्रो स्थानमा रहेर दिल्ली प्लेअफमा आइपुगेको हो भने चौथो स्थानमा हैदरावाद प्लेअफमा पुगेको हो ।

बिशाखापट्नमको डा वाइएस राजशेखर रेड्डी एसीए–वीडिएस क्रिकेट स्टेडियममा राति हुने खेलको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ भने पराजित हुने टिम प्रतियोगिताबाटै बाहिरिने छ । हैदरावाद डिफेन्डिङ रनरअप हो । दिल्लीले अहिलेसम्म फाइनल पुग्ने सौभाग्य पाएको छैन । त्यो सौभाग्य १२ औं संस्करणमा पुरा गर्ने बाटोमा दिल्ली मजबुद बनेको छ ।

सात वर्षपछि प्लेअफमा पुगेको दिल्ली यसपटक निकै सशक्त छ । उसले खेलेका पछिल्ला ५ खेलमध्ये चार खेल जितेको छ । आइपिएलमा दिल्ली र हैदरावादबीच अहिलेसम्म १४ खेल भएका छन् । जसमा हैदरावाद ९ तथा दिल्ली ५ खेलमा विजयी भएको छ । तर विशाखापट्नममा अहिलेसम्म दुवै टिमबीच एक खेलमात्र भएको छ । जसमा दिल्लीले हैदरावादलाई ६ विकेटले हराएको थियो । शिखर धवन र कप्तान श्रेयस ऐयर निकै फर्ममा छन् भने रिक्की पोन्टिङको कप्तानी र सौरव गांगुलीको सल्लाहकारमा दिल्ली सशक्त बनेको छ ।

तर कागिसो रबाडा नहुनु र पृथ्वी शा र ऋषभ पन्तको प्रदर्शन केही खस्किँदा समस्या भइरहेको छ । त्यस्तै हैदरावाद भरोसालायक केन विलियमसनको कप्तानीमा रहेकाले पनि बलियो छ । विलियमसन जारी लिगका पाँचौं सर्वाधिक रन लिने खेलाडी हुन् । मनिष पाण्डेयको राम्रो ब्याटिङ तथा खलील अहमदको राम्रो विकेटका कारण पनि सशक्त छ हैदरावाद । तर डेभिड वार्नर र जोनी बेयस्ट्रो स्वदेश फर्कनुले टिम कमजोर बनेको छ ।

के गर्लान् सन्दीप लामिछाने ?  सन्दीप लामिछाने अहम् खेलमा दिल्लीबाट खेल्लान् कि नखेल्लान् भन्ने चासो कायमै छ । सन्दीपले ६ खेलेर ८ विकेट लिएका छन् । पछिल्लो खेलमा उनले विकेट लिएनन् । जसले गर्दा उनी टिममा पर्न सकेनन् । ११ औं संस्करणमा उनले ३ खेलमात्र खेल्न पाएर ५ विकेट लिएका थिए । यतिबेला भने दिल्लीसंग स्पिनरहरु रहेकाले पनि सन्दीपले बुधबारको खेलमा स्थान पाउने हुन् कि हैनन् भन्ने आशंका छ । दिल्लीले ट्वीटर ह्यान्डलमा ३ बलरलाई राखेर सोधेको छ कि प्लेअफमा यी तीनमध्ये कसले प्रभाव जमाउला ? तीन बलरहरु अमित मिश्रा, अक्षर पटेल र सन्दीप लामिछानेले २६ विकेट लिएका छन् । दिल्लीको यो तस्वीरले सन्दीप खेल्ने आशा गर्न सकिन्छ ।