अंशुबर्माको इतिहासबारे फरक पाटो र भृकुटीबारे फैलाईएको भ्रम

२५ बैशाख २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
258 Shares


सुदर्शन अर्याल / काठमाडौं – अंशुबर्माको कार्यकाललाई हामी लिच्छवि कालको स्वर्ण युगको रुपमा मान्ने गर्दछौं। ऐतिहासिक प्रमाणहरुलाई हामीले सुनेका मिथकहरुसँग तुलना गर्दा धेरै विषयहरु ऐतिहासिक प्रमाणहरुको आधार विना नै मिथकको रुपमा उल्लेख गर्ने गरिएको पाईन्छ। यसले सरकारले राष्ट्रिय विभुति मानेका अंशुबर्माको बारेमा पनि केही तथ्यहीन विषयहरुसमेत बाहिर आउने गरेको भेटिएको छ।

इतिहासको प्रामाणिक तथ्यलाई केलाउँदै जाँदा हामी पुरातात्विक स्रोत अर्थात् शिलालेख, ताम्रपत्र आदिलाई सबैभन्दा आधिकारिक प्रमाणको रुपमा मान्ने गर्दछौं भने साहित्यिक स्रोतहरुलाई दोस्रो आधिकारिक स्रोतको रुपमा मान्ने गर्दछौं । अंशुबर्माको बारेमा तत्कालीन राजा शिवदेव प्रथमले लेखेका कूल १६ अभिलेख, अंशुवर्माले नै लेखेको २० अभिलेख र त्यतिबेला जनताको तर्फबाट लेखिएका ३ गरी कूल ३९ अभिलेखहरु हामीले अहिलेसम्म भेटेका छौं । त्यसैको आधारमा अंशुबर्माको फरक किसिमको इतिहासबारे चर्चा गर्ने प्रयास गरिएको छ ।

मिथकहरुलाई आधारमान्ने हो भने अंशुवर्मालाई शिवदेव प्रथमका ज्वाईं र ठकुरी वंशका राजाको रुपमा मान्ने गरिएको छ । तर, ऐतिहासिक प्रमाण खोज्दै जाँदा यी ३ वटै विषयहरुमा यकीन प्रमाण पाईँदैन र इतिहासकारहरुले यी तथ्य नै गलत रहेको बताउने गरेका छन् । विभिन्न सुधारका कामहरुका कारण अंशुबर्माको करिब १५ वर्षको एकल शासन र त्यस अघि १० वर्षको संयुक्त शासनको समय लिच्छविकालको लागि स्वर्ण युग मान्न त सकिन्छ । तर, उनी कसरी सत्तामा आए र उनले के–के सुधार गरेका थिए भन्ने विषयमा ऐतिहासिक प्रमाणहरुको आधारमा तल व्याख्या गरिएको छ ।

इशाको ५९० ताका ३३ वर्षसम्म लिच्छवि शासकहरुको प्रभावशाली सामन्तहरुको रुपमा काम गरिरहेका भौम गुप्तको दबदबा बढिरहको थियो । नाममा राजा शिवदेव प्रथम थिए भने उनको समेत अधिकार प्रयोग गरेर शासन भने भौम गुप्तले सञ्चालन गरिरहेका थिए । उनलाई जनताले मन नपराउने भएकोले उनी राजा बन्न पनि सक्ने अवस्थामा थिएनन् । त्यसैले उनले लिच्छवि वंशका राजाहरुलाई नै निरन्तरता दिएर शासनको हर्ताकर्ता भने आफू बनेका थिए । यसरी भौमगुप्तले आफ्नो मुठ्ठीमा शासनसत्ता लिएको शिवदेव प्रथमलाई मन परेको थिएन त थिएन । तर, उनी आफैं आफू भन्दा पहिलेदेखि शासनमा रहेका गुप्तलाई हटाउन सक्ने अवस्थामा पनि थिएनन् । त्यसैले उनले भौमगुप्तलाई पाखा लगाउन नयाँ अस्त्रको प्रयोग गरेका थिए, अंशुबर्माको ।

अंशुबर्माको प्रामाणिक उदय सन् ५९४ मा मात्रै भएको देखिन्छ । तर, इतिहासकार धनबज्र बज्राचार्यले भने उनी ५९० देखि नै राजा शिवदेव प्रथमको सल्लाहकारको रुपमा काम गरिरहेको उल्लेख गरेका छन् । उनले मुद्रामा बाहेक कतैपति आफ्नो नामको अघि महाराजधिराज लेखेको देखिँदैन । साथै सन् ६१३ मा राजा शिवदेवले नै आफ्नो उत्तराधिकारी छोरालाई युवराज घोषणा गरेकोले पनि अंशुबर्मा महासामन्तमा नै सीमित भएको र राजा नभएको धारणा समेत एकाथरी इतिहासकारहरुको छ ।

सन् ५९४ मा भेटिएको शिवदेव प्रथमको पाटन भीमसेनस्थानको अभिलेखमा अंशुबर्मालाई ‘श्री सामन्त’को रुपमा चिनाईएको छ । यो नै अंशुबर्माको नाममा भेटिएको पहिलो अभिलेख हो । पहिले शिवदेव प्रथमको सहयोगीको रुपमा देखिएका अंशुवर्मा पछि भने स्वतन्त्र शासकको रुपमा समेत देखिन्छन् । सन् ५९४ को सो अभिलेखमा ‘महा…धिराज’ लेखिएको छ । यसको बीचमा लेखिएको कुरा खण्डित भएकोले त्यो बीचको शब्द के हो ? भन्नेबारे यकीन हुन सकेको छैन । यसलाई बज्राचार्यले ‘महामात्याधिराज’ हो भनेर उनी अमात्य परिषद्को प्रमुख थिए भन्ने तर्क समेत गरेका छन् ।

यसरी ५९० देखि शिवदेव प्रथमको सल्लाहकार बनेका अंशुबर्माको कुटिलताका कारण ५९३ मा भौमगुप्तलाई शासनसत्ताबाट हटाएको देखिन्छ । गुप्तलाई शासनसत्ताबाट हटाएपछि उनलाई सामन्त बनाएकै वर्ष महासामन्तमा समेत बढुवा गरिएको पनि ऐतिहासिक प्रमाणहरुमा उल्लेख छ । सोही वर्ष शिवदेव प्रथम गुप्तको पकडबाट स्वतन्त्र राजा भएपछिको संयुक्त अभिलेखहरु मध्ये केही अभिलेखमा अंशुबर्मालाई ‘श्री सामन्त’ भनेर उल्लेख गरिएको छ भने केहीमा ‘श्री महासामन्त’ भनेर पनि उल्लेख गरिएको छ ।

१० वर्ष संयुक्त शासन सन् ५९४ मा सामन्तको रुपमा चयन भएका अंशुबर्मा र राजा शिवदेव प्रथमबीच १० वर्षसम्म संयुक्त रुपमा शासन चलेको कुरा विभिन्न अभिलेखहरुमा पाईन्छ । शिवदेवले राखेको एक अभिलेखमा ‘श्री महासामन्त अंशुबर्माले हाम्रा हजुरमा विन्ती चढाएर हाम्रो आज्ञा लिई …निगाहा गर्नुभयो’ भनेर उल्लेख गरिएको छ । यसले पनि उनी संयुक्त शासनमा रहेको कुरा पुष्टि हुन्छ । यो क्रम ५९४ देखि ६०४ सम्म यस्तो चलेको पाईन्छ ।

१० वर्षपछि स्वतन्त्र भए इसाको ६०५ को बुंगमतीको अभिलेखमा अंशुबर्मालाई स्वतन्त्र शासक मानिएको छ । उनको यो अभिलेख कैलाशकुट भवनदेखि प्रसारित भएको भनेर पनि उल्लेख गरिएको छ । यस अघिका अभिलेखहरु राजाले मानगृहबाट जारी गर्ने गरेका थिए भने यो पहिलो अभिलेख कैलाशकुट भवनबाट लेखिएको थियो । सन् ६०५ देखि ६१३ सम्म राजा शिवदेव प्रथमको बारेमा कुनैपनि अभिलेखहरुमा उल्लेख भएको पाईएको छैन । एकैपटक ६१३ मा शिवदेवले आफ्ना छोरा उदयदेवलाई युवराज घोषणा गरेर आफू भिक्षु बनेको कुरा एउटा अभिलेखमा पाईएको छ । यद्यपि सन् ६२० मा मृत्यु हुनुपूर्वसम्म अंशुबर्माले नै नेपालमा शासन गरेका थिए ।

अंशुबर्माको बंश र परिवार  अंशुबर्माको बंशको बारेमा कुनैपनि अभिलेखमा स्पष्ट उल्लेख छैन । उनलाई कुनै इतिहासकारहरुले लिच्छवि वंशका भनेका छन् भने धनबज्र बज्राचार्यले उनले तयार पारेको सिक्कामा चन्द्रमाको तस्वीर रहेकोले उनी चन्द्रबंशका थिए कि ? भन्ने अनुमान गरेका छन् । अर्काे तर्फ उनलाई शिवदेव प्रथमको ज्वाईं भनेर पनि मिथकहरुमा उल्लेख गर्ने गरिन्छ । तर, इतिहासकारहरुले भने उनी शिवदेव प्रथमका भानिज थिए भन्ने अनुमान गरेका छन् । यद्यपि यो बारेमा पनि कुनै प्रामाणिक इतिहास भने पाईँदैन । भक्तपुरको बोडेमा पाईएको एउटा अभिलेखमा ‘श्री कलाभिमानी अंशुबर्माको भाइ बुहारी’ भन्ने पाईएकोले उनको भाइ पनि रहेको भन्ने मान्न सकिन्छ । उनी विवाहित थिए । तर, उनको सन्तान भएको भन्ने कतै पनि भेटिँदैन ।

हाम्रा विद्यालयस्तरको पाठ्यक्रममा पनि भृकुटीलाई अंशुबर्माकी पुत्री भनिएको छ । तर, उनको बारेमा नेपालमा अहिलेसम्म कुनैपनि ऐतिहासिक पुरातात्तिवक प्रमाणहरु पाईएको छैन । उनको चिनियाँ सम्राट स्राङ चङ गम्पोसँग सन् ६४०÷४१ मा अंशुबर्माले विवाह गराईदिएको उल्लेख छ । तर, अंशुबर्माको निधन नै ६२० मा भएको र कुनैपनि प्रमाणले अंशुबर्माको छोरा÷छोरी रहेको भन्नेबारे उल्लेख नगरेकोले पनि यो इतिहासलाई विश्वास गर्न सक्ने अवस्था छैन । भृकुटीको विवाह भएको भनिएको बेलामा नेपालका राजा भीमार्जुनदेव थिए भने उनका सहायक शासक विष्णुगुप्त थिए । त्यसैले भृकुटी यी दुई मध्ये एककी छोरी हुनसक्ने अनुमान जगदीशचन्द्र रेग्मीको लिच्छवि इतिहास नामक पुस्तकमा उल्लेख छ । यद्यपि भृकुटीको बारेमा नेपालमा कुनैपनि प्रामाणिक स्रोतहरु नभेटिएकोले पनि उनको बारेमा यकीन गर्नसक्ने अवस्था छैन ।

अंशुबर्माका उपलब्धीहरु अंशुबर्माको समयमा समाजका विभिन्न क्षेत्रहरुले विकासको सास फेर्ने मौका पायो । उनी आफ्नो कार्यकालमा कमजोर लिच्छवि शासनका कारण टुक्रिन लागेका विभिन्न राज्यहरुलाई व्यवस्थापन गरेर लिच्छवि शासनको विशालतालाई कायमै राख्न सफल भए । यो उनको महत्वपूर्ण राजनीतिक उपलब्धी हो । विभिन्न अभिलेखहरुमा भारतको शक्तिशाली राव्य मौखरीका राजवंशसँग आफ्नी दिदीको विवाह गराईदिएर आफ्नो राज्यलाई विदेशी हस्तक्षेपबाट जोगाएर राखेको पनि इतिहासमा पाउन सकिन्छ ।

अर्काे तर्फ आर्थिक रुपमा भने यो समयमा धेरै उपलब्धीहरु भए । सन् ६१८ मा नेपालले तिब्बतसँग पनि व्यापारिक सम्बन्धको सुरुवात भएको थियो । यसले व्यापार व्यवसायमा ठूलो विकास भयो । त्यस्तै, यही समयमा ४ थरीका टकहरुको छाप्ने, कृषि, पशुपालन र वाणिज्य क्षेत्रको व्यापक सुधार, भूस्वामी र भूकर्षकहरुबीचको सम्बन्धमा सुधार, पहिले आन्तरिक सुधारहरु गरेर फलाम, चमर, उन, कस्तुरी र तामाका भाँडाहरु भारत तर्फ निकाशी समेत हुने गरेको थियो ।

विदेशी व्यापारमा विविधिकरण गर्ने नीति अनुसार चर्चित बस्तुहरु बाहेक अरु सरकारसँग स्वीकृति नलिई निकाशी गर्ने बस्तुहरुमा लाग्ने करलाई हटाएर निकाशी प्रवद्र्धनमा पनि यो कालमा महत्वपूर्ण काम भएको थियो । यो समयमा धार्मिक क्षेत्रमा पनि धेरै सुधार भयो । अंशुबर्मा आफैंमा शैव सम्प्रदायका अनुयायी थिए । यद्यपि उनको समयमा शैव बाहेक पनि बैष्णव सम्प्रदाय र बौद्ध धर्मको समेत विकासमा विभिन्न नीतिहरु तयार पारिएको थियो । उनले आफ्नो हाँडीगाउँको अभिलेखमा विभिन्न शैव, वैष्णव मन्दिर र बौद्ध विहारहरुमा समेत दान गरेको जस्ता विषयहरु उल्लेख छन् ।

सामाजिक सुधार तर्फ सो समयमा विभिन्न किसिमका शालाहरु र गोष्ठिकहरुको व्यवस्था गरिएको थियो । त्यतिबेला ६ वटा शाला र १५ किसिमका गोष्ठिकहरुको व्यवस्था गरिएको थियो । जसमा चिकित्सालयको रुपमा आरोग्यशाला र विद्यालयको रुपमा माध्वयवशाला रहेको थियो । यसबाहेक पूर्वशाला, पश्चिम शाला, उत्तरशाला र दक्षिणशाला गरी ४ शालाहरु थिए । बत्ति सम्बन्धी काम गर्ने प्रदीपगौष्ठिक, पानी सम्बन्धी काम गर्ने पानीय गौष्ठिक आदिको समेत व्यवस्था गरिएको थियो । यस्ता गौष्ठिकहरु १५ प्रकारका थिए । यसबाहेक अंशुबर्माले वर्ण व्यवस्थालाई कडाईका साथ प्रयोग गर्नको लागि एउटा भट्टाधिकरण नामको अड्डाको सुरुवात गरेका थिए । जसको काम नै एउटा जातिको मान्छेले आफ्नो जातिको काम नगरेर अरुको जातिको काम गरेको छ कि छैन भनेर हेर्नु थियो । उनले यसबाहेक अहिले रहस्यमा रहेको कैलाशकुट भवन पनि बनाउन लगाएका थिए।

(अर्याल, त्रिभुवन विश्वविद्यालय इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभाग, कीर्तिपुरमा अध्ययनरत छन्)

फेसबुकबाट तपाईको प्रतिक्रिया