रातो मच्छिन्द्रनाथको रथयात्राः ३२ हात अग्लो रथ र गुडाउने पाङ्ग्राको परिधीसमेत ३२ हातकै

प्रकाशित मिति:

काठमाडौं –  करिब एक हजार ५ सय वर्षदेखि चल्दै आएको विश्वास गरिने रातो मच्छिन्द्रनाथको यो वर्षको रथयात्रा ललितपुरको पाटनमा बुधबारदेखि शुरु हुँदैछ । उपत्यकाकै सबैभन्दा लामो यो जात्रा अन्तर्गत बर्सेनि मातातीर्थ औंशीपछिको चौथो दिन चतुर्थीमा रथ तान्न शुरु गरिन्छ । पहिलो दिन बुधबार अपराह्न पुल्चोकबाट तानिने रथ गाबहाल पुर्याइन्छ । मेलम्ची र ढल निर्माणले बिगे्रको पुल्चोकदेखि मंगलबजारसम्मको सडक रथ यात्राका लागि हतारमा केहीसाताअघि कालोपत्रे गरिएको छ ।

बुधबार रातो मच्छिन्द्रनाथसंगै मिननाथको पनि रथयात्रा सुरु हुने गुठी संस्थान शाखा कार्यालयका प्रमुख शैलेन्द्र पौडेलले जानकारी दिए । मीननाथलाई भने आजै टंगल टोलमा रहेको सानो रथमा रथारोहण गरी रथयात्रा सुरु गरिन्छ । टंगल टोलमा रथारोहण गरिएको मीननाथको रथलाई भने, रातो मच्छिन्द्रनाथको बाटो हेर्न लैजाने परम्परा छ । टंगल टोलबाट मीननाथको रथलाई तानेर गाबहालसम्म बाटो हेर्न लैजाने गरिन्छ । त्यहाँ रातो मच्छिन्द्रनाथलाई पुल्चोकबाट गाबहालसम्म तानेपछि मच्छिन्द्रनाथ अघिअघि र मीननाथ पछिपछि गराएर रथयात्रा गरिन्छ । यो रथयात्रा गाबहाल, मंगलबजार, सुन्धारा, लगनखेल हुदै जावलाखेल पुर्याइन्छ ।

रथमा हयग्रुब, लुप्तसहार, हरिसिद्धि र चन्द्रभैरवको प्रतिकका रुपमा ठूल्ठूला चार पाङ्ग्रा जडान गरिएको छ । रथको मुनिपट्टि बीचमा कर्कोटक नागको रूपमा लामो काठको ‘धः मा राखिएको छ । रथ तान्दा केही बाधा अवरोध नहोस् भनेर रथको अग्र भागमा कर्कोटक नाग राजको मुखमा सुनको जलप राखिएको हयग्रुब भैरवको मुकुट राखिएको छ । रथको माथिल्लो भागमा ‘बायमो’ मा स्वयम्भूबाट ल्याइएको अमिताभ राखिएको छ । गजुरमा सबै प्राणीको रक्षाका लागि श्री लोकेश्वरको षड्क्षरी मन्त्र लेखिएको तथा नेपालको झन्डा फहराइएको छ ।

३२ हात अग्लो, ३२ तल्लाको रथ र गुडाउने पाङ्ग्राको परिधीसमेत ३२ हातकै हुनुपर्ने मान्यता रहेको रातो मच्छिन्द्रनाथको रथलाई हरियो धुपीले सजाएर घुमाइन्छ । रथलाई गाःबहाल, मंगलबजार, सुन्धारा, ओकुबहाल, चक्रबहिल, लगनखेल ईटीहुँदै कुमारीपाटीबाट जावलाखेल पुर्याइन्छ ।

रातो मच्छिन्द्रनाथको रथलाई लगनखेल पु-याइएपछि राति रथ अगाडि एक एकवटा राँगा, बोका, जिउँदो माछा र हाँसको फुल बलि चढाएर महाबलि पूजा गरिन्छ भने ३२ पानेजूद्वारा पञ्च रक्षाको पाठ पनि गरिन्छ । भोलिपल्ट तानेर नरिवल खसाल्ने ठाउँ थती टोलतर्फ चलाउनुअघि रथलाई लगनखेलस्थित खरिबोटको दुईपटक परिक्रमा गराइन्छ ।

रथ थती टोलस्थित नरिवल खसाल्ने ठाउँ पुगेको भोलिपल्ट धान्यपूर्णिमामा पकाइने योमरी र ल्होंचामरीले रातो मच्छिन्द्रनाथको अभिषेक गरेपछि पूजाअर्चना गरी रथको टुप्पोबाट नरिवल खसालिन्छ । नरिवल खसालेको भोलिपल्ट बिहान सबेरै ’याकःमिसा भूजया’ भनी महिलाहरूले मात्र रथलाई तानेर थटीको चौबाटोमा पु-याउँछन्। नरिवल खसाल्ने दिनमा नै मच्छिन्द्रनाथको देवाली दिन पनि तोकिन्छ ।

तोकिएको दिन पूर्णचण्डी मन्दिरमा मच्छिन्द्रनाथ सहित बाराहीको देवाली पूजा गरिन्छ । नरिवल खसाल्ने जात्रा सकेको पहिलो बिहिबार मंगलबजारको मणिमण्डपमा चार दिशाको चार थाममा चार जोशी बसेर रथलाई जावलाखेलतर्फ रथ तान्ने साइत हेरिन्छ र साइत नजुरेसम्म रथलाई त्यसै ठाउँमा विश्राम गराइन्छ । साइत जुरेको दिन रथलाई तानेर कुमारीपाटी हुँदै जावलाखेल पु¥याइन्छ र त्यसको चार दिनपछि भोटोजात्रा हुन्छ । भोटोजात्रा सकिएपछि मच्छिन्द्रनाथलाई खटमा राखी बाजागाजासाथ बुङमतीस्थित मन्दिरमा पु-याइन्छ । पुल्चोकमा रथारोहण गराएपछि शुरु भएको मच्छिन्द्रनाथको जात्रा जावलाखेलमा भोटो जात्रा देखाएपछि समापन हुन्छ । त्यसैदिन देवतालाई खटमा राखेर बुंगमती लगिन्छ ।

यो जात्रा मुलुकभरिमा मनाइनेमध्ये सबैभन्दा लामो जात्रा हो । लिच्छिविकालीन राजा गुणकामदेवले शुरु गरेको यो रथजात्राको मुल थलो ललितपुरको बुङ्मती हो । मुलुकमा १२ वर्षसम्म पानी नपरी सुख्खा भई अनिकाल भएका कारण लिच्छवीकालका भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका तान्त्रिक गुरु बन्धुदत्त वज्राचार्य र पाटनका किसान ललित ज्यापुले करुणामय वा मच्छिन्द्रनाथलाई आसामको कामरूपा कामक्षबाट ल्याएका हुन् भन्ने भनाइ छ ।