पाल्पामा सिँचाइकाे पाइप गाड्दा जमिनमुनिबाट ग्यास निस्कियो

प्रकाशित मिति:

पाल्पा- माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गाड्दा जमिनमुनिबाट प्राकृतिक ग्यास निस्केको छ। सिँचाइका लागि पानी निकाल्न ट्युवेल गाड्ने क्रममा जमिनमुनिबाट ग्यास निस्किएकाे हाे। स्थानीय ताराबहादुर कुमालको जग्गामा ट्युवेल गाडेर पानी निकाल्ने क्रममा ग्यास निस्केको हो। फलामको पाइप जमिनमुनि गाड्ने क्रममा ग्यास बाहिर निस्किरहेको स्थानीय बासिन्दा राजकुमार पन्थीले बताए।

जमिनमुनि गाडेको पाइपबाट गन्ध आएपछि आगो सल्काउँदा बलेको थियाे। पाल्पामा पहिलोपटक प्राकृतिक ग्यास निस्किेको फेला परेकाे हो। जमिनमुनिबाट निस्केको ग्यासमा आगो बलेपछि त्यस क्षेत्रमा अहिले भीड लागेको छ। स्थानीय बासिन्दाले जमिनमुनि गाडेको पाइप ढाकेर राखेका छन्। ढाकेको वस्तु हटाएपछि पाइपबाट आगो निस्केको देखिएको छ। आगो बलेको हेर्नका लागि आसपासका क्षेत्रबाट सोलेमा पुगेको स्थानीय बासिन्दा रेखीराम रानाले बताए।

ग्यासका बारेमा विस्तृृत अध्ययन अनुसन्धान गरी वैज्ञानिक रुपमा प्रयोग गर्नुपर्ने पन्थीको भनाइ छ। पाल्पाका समथल माडीफाँट अन्न उत्पादनका हिसाबले महत्वपूर्ण क्षेत्रका रूपमा लिइन्छ। पाल्पामा फलाम खानी, कोइला, चुनढुङ्गा खानी प्रशस्त रहे पनि त्यसको लाभ लिन सकिएको छैन।