सरकार ‘पपुलारिस्ट’ भएरै अघि बढ्ने हो : अर्थमन्त्री

प्रकाशित मिति:

काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको साधन स्रोत र अर्थतन्त्रले भ्याएसम्म पपुलारिस्ट कार्यक्रमहरु बजेटमा पारिने बताएका छन्। आज संघीय संसदको अर्थ समितिमा बोल्दै अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सरकारले केही लोकप्रिय (पपुलारिस्ट) कार्यक्रम ल्याउन लागेको विषयप्रति इंगित गर्दै यस्तो धारणा राखेका हुन्।

अर्थ समितिमा बोल्ने क्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अर्थमन्त्री खतिवडालाई राजनीतिक हिसाबले सही र लोकप्रिय कार्यक्रमभन्दा आर्थिक हिसाबले सही र सुहाउँदो कार्यक्रम आगामी आर्थिक वर्षको बजेटमार्फत ल्याईनुपर्ने सुझाव दिएका थिए। ‘पोलिटिकल्ली करेक्टभन्दा इकोनोमिकल्ली करेक्ट आयोजना बजेटमा पार्नुस्। सरकारको नीति तथा कार्यक्रम हेर्दा इकोनोमिकल्ली करेक्टभन्दा पोलिटिकल्ली करेक्ट हुन खोजेको हो कि भन्ने जस्तो देखिएको छ। सरकारले आफ्नो लोकप्रियताकै लागि यसो नगरोस्,’ भट्टराईले अर्थमन्त्री खतिवडालई सुझाव दिँदै भने। सरकार अलोकप्रिय भए पनि आर्थिक रुपमा सही हुने आयोजना छानेर काम गर्न उनले सुझाव दिए।

भट्टराईको उक्त सुझाव सुनिसकेपछि अर्थमन्त्री खतिवडाले सरकारका केही आफ्ना नीति तथा कार्यक्रमहरु रहेको र ती कार्यक्रम छोड्न नमिल्ने भन्दै पोलिटिकल्ली पपुलारिजम र इकोनोमिक रियालिजमलाई सन्तुलित बनाएर बजेट ल्याउने धारणा राखे। ‘आर्थिक हिसाबले भ्याएसम्म पपुलारिस्ट आयोजना नै छानिन्छ। पपुलारिस्ट भएरै अघि बढिन्छ। सरकारका केही प्राथमिकताका आयोजना छन्, तिनलाई छोड्न मिल्दैन,’ खतिवडाले कडा रुपमा प्रस्तुत हुँदै जवाफ फर्काए।