यादव चन्दलाई रिहा गर्न उच्च अदालत तुलसीपुर बुटवल इजलासले बन्दीप्रत्यक्षीकरण रिट जारी

प्रकाशित मिति:

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९, शिवगढी निवासी यादव चन्दलाई रिहा गर्न उच्च अदालत तुलसीपुर बुटवल इजलासले बन्दीप्रत्यक्षीकरण रिट जारी गरेको छ । रिट जारी भएसंग चन्द रिहा भएका छन् ।यादव चन्दको हकमा यादवकी श्रीमती सरस्वती चन्दले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा बुधबार सुनुवाई गर्दै अदालतले बन्दीप्रत्यक्षीकरण रिट जारी गरेको हो ।

बुधबार रिटउपर सुनुवाई गर्दै उच्च अदालतका वरिष्ठ न्यायाधीश कुमार पोखरेल र अर्का न्यायाधीश वामदेव ज्ञवालीको इजलासले यादवलाई रिहा गर्न आदेश दिएको हो ।
रिटमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, जिल्ला प्रहरी कार्यालय कपिलवस्तु, वडा प्रहरी तौलिहवालाई विपक्षी बनाइएको थियो ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका भतिजा समेत रहेका यादवलाई प्रहरी यही बैशाख २३ गते रुपन्देहीको मणिग्रामस्थित यातायात कार्यालयमा आएको बेला पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा हिरासतमा राखेको थियो । बैशाख २३ गते पक्राउ गरेका यादवलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा प्रहरीले २०७५।११।१९ मितिको थुनुवा पूर्जी थमाएको पक्राउ परेका यादव चन्दले बताए । यादव भगवानपुरस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रअ समेत हुन् । प्रशासन कार्यालयले प्रहरीको काममा यादवले अवरोध पु¥याएको अभियोग लगाए पनि यादवको कसुर र पक्राउ गर्न पर्नुको स्पष्ट कारण नखुलेको देखिएपछि अदालतले बन्दीप्रत्यक्षीकरण रिट जारी गर्दै रिहा गर्न आदेश दिएको हो ।बुधबार भएको सुनुवाईमा रिट निवेदकको तर्फबाट अधिवक्ताहरु ओमप्रकाश अर्याल, लिलाधर मरासिनी, लक्ष्मण निरौला, नगेन्द्रप्रसाद बस्याल, ओमप्रसाद पंगेनी र ज्ञानु के.सी. तथा लिखित जवाफ प्रस्तुतकर्ताको तर्फबाट उच्च सरकार वकिल कार्यालयका न्यायाधिवक्ता आनन्द शर्माले बहस गरेका थिए ।