‘जागरण अभियानले कांग्रेस सुध्रिने आशा जाग्यो’

प्रकाशित मिति:

बिक्रम खड्का/बुटवल – बुधबार देशभरी शुरु भएको नेपाली कांग्रेसको जागरण अभियानले कार्यकर्तामा उत्साह थपेको छ। यसअघिका कार्यक्रम देखेका रुपन्देही कांग्रेस कार्यकर्ताहरुलाई बुधबारको कार्यक्रम केही अनौठो महसुस भयो, सभाहलको मञ्च खुल्ला थियो। अरुबेला जस्तो नेताहरुको खचाखच थिएन। त्यतिमात्र होइन, आसनग्रहण र पट्यारलाग्दो लमतन्ने भाषण छोट्याउँन कार्यक्रम संचालकले पटक पटक हातमा चिट थमाइदिनुु पथ्र्यो।

कार्यक्रममो अन्तिममा प्रमुख अतिथि वोल्दा सभाहलका अधिकाश कुर्ची खाली हुन्थे। तर बुधबार त्यस्तो भएन। न नेताको घाटीमा माला थियो न त खचाखच मञ्चमा आसनग्रहण नै। पुर्वमन्त्रीदेखि सांसद, पुर्व केन्द्रीय सदस्यदेखि नेताहरु सबै कार्यकर्तासंगै लहरै वसेका थिए। जसले गर्दा कार्यक्रम पनि निकै छोटो भयो, सुन्ने कुरा सबै सुनिए। समयमै कार्यकर्ताहरु घर पुुग्न पाए। विरोध सभामा पनि घाँटीभरी माला लगाएर मञ्चभरी लस्करै नेताहरु बस्ने परम्परा तोड्दै देशभरको कार्यक्रम यसैगरी गरिएको हो।

यसबाट कांग्रेस सुध्रिने हो कि भन्दै उत्साही भएका कार्यकर्ताले मनको वह फेसवुकको भित्तामा लेखेका छन्। नेपाली कांग्रेसका सैनामैना नगरका सभापति रामप्रसाद अधिकारीले आफ्नो फेसवुकमा कार्यक्रमको शैलीले थप उत्साहित बनायो भनेका छन्। कांग्रेसले जागरण सभाबाट नयाँ शैली लागु गर्न सबै जिल्लामा सर्कुलर गरेको थियो। सोही अनुसार रुपन्देहीको कार्यक्रम मञ्चमा तीनजना अतिथि थिए। प्रमुख अतिथि महामन्त्री शंशाक कोइराला, केन्द्रीय प्रतिनिधि प्रदेश सभा सदस्य डिल्ली चौधरी र महिला प्रतिनिधि महिला संघका केन्द्रीय सदस्य सिता न्यौपाने। यसबाट महिलाहरु उत्साही भएका छन्।