सङ्घीयता कार्यान्वयनमा सत्ता र विपक्षसँगै हिड्नुपर्छ : नेता सिटौला

प्रकाशित मिति:

विराटनगर – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य कृष्ण सिटौलाले जनताको बलिदानले सङ्घीय गणतन्त्र स्थापना भएको बताएका छन् । नेपाल दलित सङ्घ मोरङको पाँचौँ जिल्ला अधिवेशनको बुधबार उद्घाटन गर्दै नेता सिटौलाले मुलुकको विकास र जनताको आर्थिक समृद्धका लागि सङ्घीयता कार्यान्वयनका लागि सत्ता र विपक्षसँगै हिँडनुपर्नेमा जोड दिए ।

बिग्रँदै गएको राजनीतिक अवस्थालाई सही मार्गमा नेपाली काङ्ग्रेसले मात्र ल्याउनसक्ने दावी गर्दै उनले वर्तमान अवस्थामा दलितको नीति निर्माण तथा अन्य क्षेत्रमा काङ्ग्रेसले प्रतिनिधित्व गराएको दाबी गरे । आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीले नेपाली काङ्ग्रेसले मात्र दलितको हकअधिकार स्थापित गर्ने धारणा व्यक्त गरे ।

सो अवसरमा दलित नेताहरुले सामाजिक, आर्थिकरुपमा दलित पछाडि रहेको बताउँदै नेपाललाई विसं २०६३ मा नै छुवाछूत मुक्त राष्ट्र घोषणा गरे पनि अहिले पनि व्यवहारमा लागू नभएको गुनासो व्यक्त गरे । उनीहरुले नेपाली काङ्ग्रेसको हरेक तह र स्थानमा उचित स्थान दिनुपर्नेमा जोड दिएका थिए ।