जागरण अभियानबाट सकारात्मक सन्देश

प्रकाशित मिति:

ललितपुर –  नेपाली काँग्रेसले ७७ जिल्लामा सुरू गरेको ‘हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान’ ले कार्यकर्तालाई जागरुक बनाएको र सङ्गठन चलायमान भएको जनाएको छ । वि.सं. २०७४ सालमा भएको स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा पराजय भोगेपछि काँग्रेसको सिङ्गो सङ्गठन र कार्यकर्तामा निराशा छाएसँगै पार्टीका औपचारिक कार्यक्रममा व्यापक कमी आएको थियो । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा सबै जिल्लामा सुरु भएको अभियानले कार्यकर्तामा सकारात्मक सन्देश प्रवाह गरेको दाबी गर्नुभयो ।
उहाँले हिमाली जिल्लादेखि तराई–मधेसका जिल्लासम्म र सुगम शहरहरूदेखि दुर्गम ठाउँहरूसम्म अभियान प्रारम्भ र स्थानीय कारणले इलाम र मोरङमा बिहीबारबाट अभियान सुरु भएको जानकारी दिनुभयो ।

अभियानले पार्टीलाई नयाँ सन्दर्भमा नवीन ढङ्गले सुदृढ गर्दै वर्तमान सरकार बने यताका समग्र बेथितिप्रति जनतालाई सुसूचित गराउन सहयोग पुगेको बताउँदै प्रवक्ता शर्माले पार्टी शीर्ष नेतृत्व एवं सम्पूर्ण केन्द्रीय प्रतिनिधिहरूबाट एउटै स्वर र भावना प्रकट भएको जानकारी दिनभुयो । उता धादिङ जिल्लामा खटिनुभएका केन्द्रीय सदस्य प्रदीप पौडेलले गएको निर्वाचनमा भएको गणितीय हारबाट निराश बनेका कार्यकर्तालाई जागरुक बनाएको र निष्क्रिय रहेका पार्टीका सङ्गठनहरू चलायमान भएको बताउनुभयो । नेता पौडेलले अभियानमा पार्टीका पुराना नेता, बुद्धिजीवी, समाजका प्रतिष्ठित नागरिकसँग परामर्श लिइने र वर्तमान सरकारप्रति काँग्रेसको धारणा सार्वजनिक गर्न अभियान सुरु गरिएको बताउनुभयो ।