काठमाडौं – नेपाल पत्रकार महासंघले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ । सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयकका प्रावधानप्रति असहमति राख्दै महासंघ आन्दोलनमा उत्रिएकाे हाे । अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सरोकारवाला पक्षसँगको छलफल र सहमतिविना संसदमा विधेयक दर्ता गरेको भन्दै आपत्ति जनाएको छ ।
उक्त विधेयकका प्रावधानले मिडिया काउन्सिललाई सरकार नियन्त्रित अंगका रुपमा स्थापित गर्नुका साथै स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने महासंघले ठहर गरेको छ । महासंघले उक्त विधेयक तत्काल फिर्ता लिई सरोकारवाला पक्षसमेतको छलफल र सहमतिमा र पुनः विधेयक मस्यौदा गर्न सरकारसँग माग गरेको छ ।संसदमा विचाराधीन विज्ञापनसम्बन्धी ऐन र सूचना प्रविधिसम्बन्धी ऐनमा प्रेस स्वतन्त्रताविरोधी दफा सच्चाउन माग गर्दै महासंघले सरकार र सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गराएको छ ।
महासंघले तय गरेका विरोधका कार्यक्रम
वैशाख २९ गतेः महासंघका पूर्व पदाधिकारी, सञ्चारमाध्यमका सम्पादक, कानुनविद र विज्ञहरुसँग छलफल । वैशाख ३० गतेः संसदका सम्माननीय सभामुख, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षलाई ज्ञापनपत्र बुझाइने । वैशाख ३१ गतेः संसदका सम्वन्धित समितिका सभापति र सदस्यहरुसँग छलफल । जेठ १ गतेः कार्यक्षेत्रमा कालोपट्टी लगाएर काम गर्ने । महासंघ केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र शाखा कार्यालयमा सरोकार पक्षबीच बृहद छलफल कार्यक्रम आयोजना गर्ने ।
जेठ ३ गतेः काठमाडौंमा संसदबाहिर र जिल्लाहरुमा सदरमुकाममा सञ्चारसाधनसहित बृहद् प्रदर्शन गर्ने ।