अझै तुइनकै भर ……

प्रकाशित मिति:

जाजरकोट –  नलगाड नगरपालिका–१, ठूलाबगरका पठवीर पुनले तुइनमा झुन्डिएर यात्रा गर्न थालेको वर्षौं भयो। वर्षात्का बेला मात्र होइन, अरूबेला पनि भेरी तर्न तुइनकै भर पर्नु उनको बाध्यता हो। २०७२ असोजमा पहिलोपटक प्रधानमन्त्री हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका तुइन विस्थापन गर्ने घोषणा गरेका थिए। त्यो खबर सुनेर पुन निकै खुसी भएका थिए। तर तीन वर्षसम्म पनि त्यो वाचा पूरा हुन सकेको छैन। तुइनकै सहाराले बजार, मेलापात र सदरमुकामसम्म जानुपर्ने भएपछि उनी थप निरास बनेका छन्।

‘कहिले होला यो तुइनबाट छुटकारा पाउने ?’ उनले दुखेसो पोख्दै प्रश्न गरे, ‘कुन नेता र सरकारले तुइन चल्ने ठाउँमा गतिलो पुल बनाइदेलान् ?’ यो समाचार जनक केसीले जाजरकोटबाट लेखेका हुन् ।

ठूलाबगरकै हस्तकली घर्तीको दुखेसो पनि पुनको भन्दा फरक छैन। गाउँमा आउने कर्मचारी, नेता र सामाजिक कार्यकर्तासँग उनी गुनासोसहितको प्रश्न तेस्र्याइरहेकी हुन्छिन्, ‘तुइनमा झुन्डिएर भेरीवारपार गर्ने दिन कहिले सकिएला ?’ आफू सानै हुँदादेखि तुइनमा झुन्डिएर भेरी तर्न थालेको बताउँदै उनले भनिन्, ‘अहिले ४१ वर्षकी भएँ, अझै तुइन नचढी उपाय छैन।’ आजको नागरिक दैनिकबाट