शरीर दान गर्ने आचार्यको शव हस्तान्तरण

प्रकाशित मिति:

झापा – भद्रपुर नगरपालिकामा पहिलोपटक शरीर दान गर्ने उदयदेव शर्मा आचार्यको शरीर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई आज हस्तान्तरण गरिएको छ । भद्रपुर–१० स्थित चन्द्रगढी निवासी ६९ वर्षीय आचार्यको निधनपछि उनको अन्तिम इच्छाअनुसार दाहसंस्कार नगरी प्रतिष्ठानलाई हस्तान्तरण गरिएको हो । आचार्यको आज बिहान ४ः३० बजे हृदयघातका कारण निधन भएको कान्छा छोरा राजकुमार आचार्यले जानकारी दिए ।

आचार्यले विसं २०६५ मा आफ्नो शरीर प्रतिष्ठानलाई दान गरेका थिए । विसं २००७ असोज १३ गते खोटाङको सदरमुकाम दिक्तेलमा जन्मिएका आचार्य नेपाल प्रहरीका पूर्व प्रहरी निरीक्षक समेत हुन् । उनी वैदिक समाज झापाका संस्थापक उपाध्यक्ष, पूर्व प्रहरी सङ्गठन झापाका सदस्य, बाह्मण समाज झापाका सदस्यलगायत विभिन्न सामाजिक सङ्घ–संस्थामा आवद्ध थिए । आचार्यले सामाजिक रूपान्तरणका लागि परम्परागत कुसंस्कारविरूद्ध जागरण अभियान समेत चलाउँदै आएका थिए । आचार्यका दुई श्रीमती, तीन जना छोरा र एक छोरी रहेका छन् । आचार्यको शवको अन्त्येष्टि नगरिए पनि धार्मिक विधि–परम्पराअनुसार काज–किरिया गरिने कान्छा छोरा राजकुमारले बताए । – रासस