शिक्षा, संस्कृति र पर्यटनका क्षेत्रमा साभ नेपालको क्रियाशीलता

प्रकाशित मिति:

तुलसी प्रवास  – वर्तमान समयका शिक्षा क्षेत्रका विकृतिहरू, झ्याङ्गिँदै गएका सामाजिक समस्याहरू, हाम्रो मौलिक संस्कृतिले भोग्नुपरेको अस्तित्वको संकट, प्रतिकूल बन्दै गएको पर्यावरण, हाम्रा नानीबाबुहरूले झेलिरहेको मनोवैज्ञानिक समस्या र विद्यालयको अपेक्षित भूमिका, बिग्रँदो युवापुस्ता आदि जल्दाबल्दा विषयहरूसँग सम्बद्ध श्रव्य–दृश्य सामग्रीहरूको उत्पादन र प्रशारणमार्फत नेपाली समाजमा सामाजिक सचेतना अभिवृद्धि गरी स्वस्थ समाज निर्माणमा आफूसक्दो टेवा पु¥याउने उद्देश्यले SAAV Nepal( Social Awareness Through Audio & Visual) नामक संस्थाले आफ्नो क्रियाशीलता देखाइरहेको छ । नेपालको शिक्षा, पर्यटन र संस्कृतिको क्षेत्रमा यस संस्थाले विभिन्न सचेतनामूलक कार्यक्रमहरू गरिरहेको छ ।  आ–आफ्नो क्षेत्रमा स्थापित परिचय बनाइसक्नु भएका विज्ञहरूलाई साथमा लिएर यस संस्थाको स्थापना गरिएको होे । यस संस्थामार्फत विभिन्न जातजातिका मौलिक संस्कृतिको जगेर्ना गर्नका लागि विभिन्न अनुसन्धानका कामहरू सञ्चालन भैरहेका छन ।

हाम्रो पहिचान भनेका हाम्रै संस्कृति हुन् । युगौँदेखि नेपाली समाजले मौखिक रूपमा जोगाउँदै आएका हाम्रा लोक परम्परा र लोक व्यवहारको खोजी गरेर त्यसलाई लिपिबद्ध गरिएन भने अवका दिनमा ती संस्कृति हराएर जाने निश्चित छ । नेपालमा बसोबास गर्ने हरेक जातजातिको पहिचान गरी उनीहरूका लोक संस्कृतिको अनुसन्धान गर्ने र त्यसलाई लिपिबद्ध गरी प्रतिवेदन तयार पार्ने र त्यसैका आधारमा भिडियो डकुमेन्ट्री तयार पार्ने एउटा ऐतिहासिक कार्यको थालनी यस संस्थाले गरिरहेको छ । त्यसका साथै धार्मिक, सांस्कृतिक, पुरातात्विक, पर्यटकीय तथा ऐतिहासिक स्थलहरूको खोजी गरेर त्यसको बारेमा अनुसन्धानमुलक डकुमेन्ट्री तयार गर्ने अभियान पनि यसको रहेको छ । यस संस्था मार्फत नेपालमा बसोबास गर्ने लोपोन्मुख र सीमान्तकृत जातजाति सहित ब्राह्मण, क्षेत्री, मगर, गुरुङ, नेवार, मुसलमान, ठकुरी, दशनामी, कामी, माझी, सार्की, दमाई, कुमाल, दराई, दुरा, पुन, भुजेल, बोटे, थकाली, बादी, तामाङ, चेपाङ, कुसुन्डा, मुसहर, थारू, गन्धर्व जातिका जातीय संस्कार र संस्कृतिको अनुसन्धान गरी नेपाल स अनेक जाति ः अनेक संस्कृति नामक अनुसन्धानात्मक वृत्तचित्र पनि तयार गरिएको छ ।

यो वृत्तचित्र नेपाल र यहाँका जातजाति बुझ्न चाहने हरेकका लागि र विशेष गरी माध्यमिक तहको सामाजिक शिक्षा विषयका लागि निकै उपयोगी हुनेछ । यस भित्र विभिन्न जातजातिका अर्थ सांस्कृतिक पक्ष, धर्म, कर्म, भेषभुषा, खानपान, पूजाआजा, चाडपर्व, मनोरञ्जन तथा उनीहरूका लोपोन्मुख र संरक्षणको पर्खाइमा रहेका सांस्कृतिक पक्षको जानकारी रहेको छ । संस्थाको अग्रसरता तथा मेरो प्रत्यक्ष सहभागितामा अनुसन्धान गरी तयार पारिएको यस वृत्तचित्रमा नेपालका सोरठी, घाटु, झोरा, कौरा, तायामचा, डण्डी, कृष्णचरित्र, झुमरा, झ्याम्टा, सेलो, लाठी, झाम्रे, पुख्र्यौली, बालन, भजन, हनुमान लीला लगायतको परिचय सहित अडियो, भिडियो समावेश गरिएको छ ।

साथै संस्थाले ग्रामीण पर्यटन प्रवद्र्धनका लागि विभिन्न समुदायमा होमस्टे सञ्चालन सचेतना तालिम पनि सञ्चालन गर्दै आएको छ । सम्बन्धित ठाउँमा नै बसेर व्याबहारिक तरिकाले तालिम गराई उनीहरूका लागि आवश्यक पर्ने नीति नियमका बारेमा पनि संस्थाले जानकारी गराउँदै आएको छ ।  त्यसैगरी बालबालिका नै राष्ट्रका जीवन स्वस्थ समाजका लागि स्वस्थ बालमन भन्ने उक्तिलाई चरितार्थ बनाउने उद्देश्यले यस संस्थाद्वारा विद्यालयसँग सम्बन्धित रहेर विद्यार्थी, अभिभावक, शिक्षक, प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूका लागि समसामयिक विषयवस्तुमा तालिम तथा सेमिनारहरू सञ्चालन भइरहेका छन । विद्यालय तहमा अध्ययन गर्ने नानीबाबुहरूको उज्यालो भविष्यको उद्देश्य सहित यस्ता कार्यक्रमहरू थालिएको हो ।  यस संस्थाद्वारा विभिन्न कार्यक्रमबाट वचत रहेको केही प्रतिशत रकम विद्यालय शिक्षाबाट बञ्चित रहेका बालबालिकाको हितमा उपयोग गरिँदै आएको छ । यसै सिलसिलामा गण्डकी प्रदेशको कुसुण्डा जातिकी एकमात्र बालिका सीमान्त कुसुण्डाको शिक्षा र स्वास्थ्यको लागि सहयोग अभियान पनि संस्थाले सुरु गरेको छ ।
-लेखक SAAV Nepal का अध्यक्ष हुनुहुन्छ ।