समाचार लेखेपछिको धम्कीले आफ्नो हुलिया नै परिवर्तन गरेर बसेको समय अविष्मरणिय छ

प्रकाशित मिति:

झापा गौरादह नगरपालिका ७ ग्वालडुब्बामा बुवा टेकप्रसाद अधिकारी र आमा लक्ष्मी अधिकारीका पहिलो सन्तानका रुपमा २०४५ साल फागुन ५ गते जन्मनुभएका सुदिप अधिकारी पछिल्लो समय टेलिभिजन जगतमा परिचित नाम बन्दै गएको छ । झापाको दमकबाट प्रशारण हुने हिमशिखर टेलिभिजन र रेडियो हिमशिखरमा समाचार प्रमुखका रुपमा कार्यरत अधिकारीसँग उहांको पत्रकारिता यात्राको अनुभव समेटेर गरिएको कुराकानीको अंश —
 तपाई पत्रकारितामा कसरी आउनुभयो ?
 मेरो पत्रकारिता यात्रा अलि चाख लाग्दो छ । सानैदेखि रेडियो नेपालको घटना र बिचार सुन्ने बानी थियो मेरो । त्यहिबाट प्रेरित हुदै जान्थे म । तर रङ्गमञ्च तिर अचानक रम्न पुपगेको थियो । २०६० साल ताकाको कुरा हो म भर्खर १५ बर्षको कलिलो केटो थिए । त्यसबेला म अध्ययनरत विद्यालयमा नाटक मञ्चन गरिने कुरा सुने । ध्रुब कट्टेल सर जो हामीलाई नेपाली बिषय पढाउनुहुन्थ्यो, उहाले नाटकको लेखन तथा निर्देशन गर्ने कुरा सुनें । नाटकको नाम चाहिं ठ्याक्कै बिर्सिए अहिले । मैले पनि त्यंहा अबशर पाएं । त्यसपछि २०६२ सालमा माईती नेपाल काकडभिट्टाले एउटा नाटक लेख्न र मञ्चन गर्ने अवशर दिलाईदियो । त्यसबेला म एसएलसी परीक्षाको तयारीमा थिए । नाटक मञ्चन भयो झापाको गौरादह बजारमा । त्यहि बेला एकजना ब्याक्तीले मलाई बोलाउनुभयो र मेरो अन्तरवार्ता लिनुभयो । मेरो मुख नजिकै मोबाएल जस्तै यन्त्र थियो । पछि मात्रै थाहा भयो त्यो रेकर्डर रहेछ । त्यसपछि मलाई पत्रकारिताको रहर झन् जाग्यो । सानैदेखी ऐना अगाडी उभिएर पत्रिका बाचन गर्ने बानी थियो मेरो । मैले त्यसबेला किन त्यसरी ऐना अगाडी बसेर पत्रिका पढ्थे थाहा छैन । पछि २०६३ सालमा म ११÷१२ कक्षा पढ्नका लागि झापाकै बिर्तामोड बस्न थाले । त्याहा बिबिसि नेपाली सेवाका झापा संबाददाता उमाकान्त खनाल, पत्रकार एकराज गिरि, सुब्रत न्यौपाने लगायतका अग्रजहरुसँग केहि हिमचिम भयो । आर्टिकल लेख्न थालेको थिए त्यसबेला पूर्वाञ्चल राष्ट्रिय दैनीकमा । राम्रै स्थान पाउने गरेको थियो । त्यसपछि काठमाण्डौ बस्न थाले । त्याहा रहँदा केहि टेलिभिजनमा केहि समय काम गरें । पत्रकारिता मेरो लागि नशा झंै बनिसकेको थियो । म चाहेर पनि छाड्न सक्ने अवस्थामा थिईन । तर मेरो एउटा त्यस्तै बाध्यात्मक अवस्था आयो र झापामै बस्नुपर्ने भयो । त्यो बिचमा गौरादहबाट नाताले दाजु पर्ने बेणुप्रसाद अधिकारीले कसार साप्ताहिक पत्रिका प्रकाशन गर्न थाल्नुभएको थियो । सह–सम्पादकको जिम्मेवारी पाए मैले २०६७ सालमा । त्यसपछि २०६९ सालदेखि मैले झापाकै हिमशिखर टेलिभिजनमा रिपोर्टरको रुपमा काम गर्ने अवशर पाए । त्यसबेला मलाई टेलिभिजन पत्रकारिताका बारेमा निखार ल्याउन तत्कालिन समाचार प्रमुख भूपाल लुईटेलले यति साथ दिनुभयो त्यो मैले भुल्न हुन्न । अहिले यहि हिमशिखर टेलिभिजन र रेडियो हिमशिखरमा समाचार प्रमुखको जिम्मेवारी सम्हालिरहेको छु । यसरी मेरो पत्रकारिताको सुरुवात भयो र यहासम्म आईपुगेको छु ।
 यहाँसम्म आइपुग्दा कतिको चुनौती खेप्नुपरेको छ ?
 पत्रकारिता आफैमा चुनौतीपूर्ण पेशा हो । जुनसुकै ठाउँको किन नहोस्, पत्रकारिता गर्दा अनेकन चुनौती आउँछन् । सुविधा सम्पन्न, शहरमुखी पत्रकारिता र मोफसलको पत्रकारितामा पनि केही भिन्नता अवश्य नै छ । संघीय राजधानीको तुलनामा मोफसलको पत्रकारिता कमजोर छ । तथापी मोफसलको समग्र विकासका लागि मोफसलको पत्रकारिताको विकास पनि आवश्यक छ । मोफसलका समाचार मोफसलकै सञ्चार माध्यमका लागि चासो र प्राथमिकताका विषय पनि हुन् । तथापी तिनको उठान र सम्वोधनका लागि भने अनेकन जोखिम छन् । समाचार लेखेकै कारण मैले केहि समय अघि सेक्युरिटी थ्रेट (असुरक्षित) महशुष गरेर हुलिया नै पनि फेरेको थिएं केहि समयसम्म ।
 यो क्षेत्रमा आएपछि के पाउनुभयो, के गुमाउनुभयो ?
 पत्रकारिता क्षेत्रमा आएपछि धेरै कुरा पाएं र थोरै कुरा गुमाएं । मैले अघिनै पनि भनिसकेको छु । पत्रकारिता क्षेत्रमा आएर मैले आत्मसन्तुष्टि, आत्मसम्मान, नागरिकको माया, दर्शक तथा श्रोताको म प्रतिको भरोशा र बिश्वास । यि मैले कमाएका सम्पत्ती हुन् । अब गुमाएकै कुरा गर्ने हो भने चाहि मैले घरमा मेरो बुवा आमालाई त्यसै गरि मेरो श्रीमति र बालबच्चालाई साथै साथीभाई तथा आफन्तलाई उपलब्ध गराउने समय चाहि गुमाएकै छु । कहिलेकाहि त यस्तो सम्म हुन्छ कि बाटोमा श्रीमतिसँगै कतै यात्रा गर्दा बाटैमा समाचारका बिषयहरु भेट्छु अनि आफ्नो सवारी साधन रोक्छु र क्यामरा चलाउन थाल्छु । गन्तब्यमा पुग्दा साझ परिसकेको हुन्छ । श्रीमति रिसले आगो । चुप चाप बस्नुको बिकल्प नै हुन्न म सँग । यस्ता थुप्रै घटनाहरु छन् । समग्रमा भन्नुपर्दा यो क्षेत्रमा धेरै कुरा पाएको छु थोरै कुरा मात्र गुमाएको छु ।
 यहांले पत्रकारिता सुरु गरेदेखिको कुनै अविस्मरणीय क्षण ?
 यो प्रश्नले मलाई फेरि झस्कायो । केहि बर्ष अघि भारतको दार्जिलिङमा बिमल गुरुङले नेतृत्व गर्नुभएको गोर्खा जनमुक्ती मोर्चाले दार्जिलिङलाई छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै अनिश्चितकालिन दार्जिलिङ्ग बन्द गरेर आन्दोलनमा उत्रिएको थियो । त्यसको रिपोर्टिङका लागि म र मेरा सहकर्मी बिपि कोईराला त्यस तर्फ लाग्यौं । ईलामको पशुपतिनगर नाका पुगेपछि एउटा भारतीय गाडी रिजर्भ गरेर हामी दार्जेलिङ्ग तर्फ लाग्यौं । बाटैभरि आन्दोलन र नाराबाजी । कहि कहि त झण्डै पिटाईनै खाईयो । पछि परिचय पत्र र प्रेस ज्याकेट देखेर छाडे । बल्लतल्ल दार्जिलिङ्ग पुगियो । सबै पशल बन्द । भोकले खुट्टा टेक्न नसकिने अवस्था थियो । खानेकुरा त के कुरा गर्ने पानीसम्म पिउन पाईएन । पछि एकजना स्थानीय नेतासँग चिनजान गरेपछि राती २ बजे जाउलो खान पाईयो । भोलिपल्ट भारतीय प्रहरीले गोर्खा जनमुक्ती मोर्चाको प्रदर्शनमा हस्तक्षेप गर्यो । त्यसबेला आंखै अगाडी मान्छे ढलेको देखेको थिए । हातले क्यामरा थाम्न मुस्किल भयो । एउटा घुम्तीको पछाडी सहकर्मी र म बस्यौं । फर्कदा पनि दार्जिलिङ्गबाट पैदल नै पशुपतिनगर सम्म आएको छु । यो मेरो पत्रकारिता यात्राको दौरानमा कहिल्यै नबिर्सिने क्षण हो ।
 पत्रकारिता गर्न चाहानेलाई के सुझाव दिनुहुन्छ ?
 यो क्षेत्रमा लाग्न चाहानु हुनेले अध्यनशिल, लगनशिल, प्रयत्नशिल, सहनशिल हुन सक्नुपर्छ । कसैको लहैलहैमा लागेर यो क्षेत्रमा आउदा जति सजिलो ठान्नुहुन्छ काम गरेर देखाउन त्यसको चार गुणा गाह्रो हुन्छ । सबैभन्दा ठुलो कुरा अध्ययन हो । र, अन्तयमा यो क्षेत्रमा लाग्न चाहानेलाई यत्ति चाहि सुझाव दिन्छु कि यो क्षेत्रमा लाग्नुपूर्व अध्ययनशिल हुन चाहि जरुरी छ ।
 बिशेष गरि तपाई कुन बिषयमा कलम चलाउन मन पराउनुहुन्छ ?
 म बिशेष गरि सामाजिक उत्तरदायित्व सहितको पत्रकारितामा क्रियाशिल हुने गरेको छु । जनजिबिकाको सवाल मेरो पहिलो प्राथमिकतामा पर्ने गर्छ । म शब्दमा रङ्ग भर्छु अनि दृष्यमा आवाज । त्यहि माध्यमबाट आवाज बिहिनहरुको आवाज बोल्ने गर्छु ।
 अन्त्यमा केहि भन्न चाहनुहुन्छ ?
 अन्त्यमा, विश्वमा कुनै पनि पत्रकारले आफूलाई पार्टीको छाता ओढेर पत्रकारिता गरेको पाइँदैन । तर, नेपालमा पत्रकार भन्नासाथ कुन पार्टीको भन्ने सवाल उठ्न थालेको छ । पत्रकारहरुले म पत्रकार भनेर गर्व गर्नुपर्नेमा बिभिन्न भातृ संस्थाको नामबाट आफूलाई चिनाउने गरेका छन् । प्रत्यक्ष वा परोक्ष रुपमा भातृ संस्थामा आबद्ध रहनु राजनीतिक पार्टीकै सदस्य हुनुसरह हो । विचार र आस्थाका आधारमा मतदान गर्ने अधिकार पत्रकारलाई पनि हुन्छ । तर, पत्रकारले व्यावसायिक पत्रकारिता गर्नुपर्छ, नकि पार्टीकारिता । पार्टीकारिता मौलाएको दृष्टान्त स्थानीय तहको पहिलो र दोस्रो निर्वाचनमा पनि स्पष्टसँग देखियो । कमै पत्रकारहरुले मात्र व्यावसायिक धर्म निर्वाह गरे भने अधिकांशले प्रत्यक्ष रुपमा पार्टीकारिता नै गरे । विशेषगरी, पत्रपत्रिका र अनलाइन पोर्टलहरुमा पार्टीकारिता मौलाएको देखियो । श्रमजीवी पत्रकारहरुको आशा, भरोसा र अभिभावक संस्थाका रुपमा रहेको महासंघलाई सबैको साझा संगठनका रुपमा विकसित गर्नु आवश्यक देखिएको छ । पत्रकारलाई निर्धक्क भएर पत्रकारिता गर्ने वातावरण निर्माण गरियोस् यत्ति कामना गर्छु । अनि नागरिकको सुसूचित हुने अधिकार तथा पारदर्शिता, जवाफदेहिता, विचार तथा अभिव्यक्ति स्वतन्त्रताजस्ता लोकतन्त्रका आधारभूत मान्यतासँग जोडिएको पत्रकारिता क्षेत्रमाथि आमनागरिकले थुप्रै आशा र भरोसा गरेका छन् । यस्तो अवस्थामा पत्रकारहरुले आफूलाई सर्वप्रथम व्यावसायिक पत्रकारितामै प्रतिबद्ध बनाउनु आवश्यक देखिएको छ ।