एउटा अनौठो जनावर जसको मूल्य ८ लाख

प्रकाशित मिति:

ज्ञानमणि नेपाल कालोटोपी, चित्लाङ, मकवानपुर ।  मकवानपुरको पर्यटकीय गन्तव्य चित्लाङ हरेक सम्भावनाले भरिपूर्ण छ । यो भेग कृषि, पशुपालन र पर्यटकिय दृष्टिले निकै महत्वपूर्ण छ । राजधानी काठमाडौंबाट करिव ६० किमीको पश्चिम दक्षिण दिशामा अवस्थित चित्लाङका बारेमा धेरैलाई थाहा हुन सक्छ । तर त्यही चित्लाङमा यस्तो अनौठो जनावर पनि पालिएको छ , त्यसको बारेमा भने कमैलाई मात्रै थाहा होला ।

जिल्लाको थाहा नगरपालिका वडा नम्वर १० मा पर्ने बिसिङखेल भन्ने ठाउँमा यो जनावर पालिएको हो । झट्ट हेर्दा यो जनावर ऊँट जस्तो देखिन्छ भने नियालेर हेर्दा भेडा र घोडाको प्रजाति जस्तो देखिन्छ । घाँटी र टाउको ऊँटको जस्तै छ । यसको हिडाई पनि ऊँट जस्तै छ । रौँ हेर्दा भेडा जस्तो देखिन्छ । पुच्छर भने घोडाको जस्तो छ । तर यो जनावर ऊँट, घोडा वा भेडा मध्ये कुनै पनि होईन भन्ने सुन्दा अचम्म लाग्न सक्छ । आखिर के रहेछ त यो अचम्मको जीव रु जर्मन भाषामा यसलाई अल्पाका भनिदो रहेछ । नेपालीमा पनि यहि नामले चिनिन्छ ।  विगत २० बर्षदेखि यो जनावरको हेरचाह गर्दै आएका दोलखा जिरीका गंगा जिरेलका अनुसार यो जनावरलाई पहिलो पटक जर्मनी नागरिक हार्टमुट बाउन्डरले नेपालमा भित्र्याएका थिए । उनले शुरुमा दोलखाको जिरीमा सौखका लागि यो जनावर पालेका थिए । मकवानपुरको बिसिङखेलमा २ बर्षदेखि अल्पका पालिँदै आएको भएता पनि नेपालमा यो जनावर भित्रिएको भने २० बर्ष भइसकेको छ ।

अल्पकाले एक बर्षमा एक पटक मात्रै बच्चा जन्माउँछ र एक पटकमा एउटा मात्रै पाउँछ । यसको आयू २५ बर्ष सम्म हुन्छ । चित्लाङको यस फर्ममा अहिले २० बर्ष पुगेका अल्पका समेत छन् । बिसिंखेलस्थित अल्पकाज फर्ममा अहिले सेतो, खैरो र कालो रंगका गरी १५ वटा अल्पका छन् । उनीहरुलाई दिनमा ४ देखि ५ भारी सम्म घाँस आवश्यक पर्ने जिरेल वताउँछन् ।

अल्पाकाको अनौठो स्वभाव  अल्पाकाको स्वभाव पनि अनौठो खालको हुन्छ । अल्पकाको भाले र पोथीलाई छुट्टाछुट्टै राख्नुपर्छ । केही गरी सँगै राख्यो भने झगडा गरेर हैरान पार्छन् । यिनिहरु माइनस १० डिग्री सेल्सियस सम्मको चिसोमा पनि बाँच्न सक्छन् । जिरेलले अल्पकाले मान्छेलाई गर्ने व्यवहारदेखि दिशा पिसाव गर्ने स्वभाव सम्मका कुराहरु सुनाए । यो जनावरले दिशापिसाब सधैं एउटै ठाउँमा मात्र गर्छ । यसले आफ्नो बथान छोडेर कतै भाग्दैन । देख्दा डर लाग्ने भएपनि मान्छेलाई कहिल्यै केहि गर्दैन । गर्मी ठाउँमा यो बाँच्न सक्दैन । यति धेरै महंगो जीव आखिर किन पालिन्छ त रु भन्ने धेरैलाई जिज्ञासा लाग्छ सक्छ । खासमा यो जीव दुई कारणले पाल्ने गरिन्छ । पहिलो सौखका रुपमा र दोश्रो रौंँको व्यवसायिक उत्पादनका लागि । बिसिंखेलस्थित यो फर्ममा भने रौंका लागि अल्पका पालिँदै आएको छ ।

यसको रौं प्रतिकिलो ७० हजारदेखि एक लाख रुपैंयासम्म पर्छ । यसको रौं भेडाको भन्दा ५ गुणासम्म न्यानो हुन्छ । सिंगो अल्पकाको मूल्य ७ लाखदेखि १० लाख रुपैंयासम्म पर्छ । यसको रौं बाट बनाइएका ज्याकेटहरु जाडोमा न्यानो हुन्छन् भने गर्मीमा चिसा हुन्छन् । त्यसैले यस्ता ज्याकेटको मुल्य पनि सामान्य ज्याकेट भन्दा महंगा हुन्छन् । अहिले अल्पका हेर्नका लागि विभिन्न ठाउँबाट मान्छेहरु मकवानपुरको बिसिंखेल पुग्ने गरेका छन् । यसले त्यहाँको पर्यटकिय आर्कषण पनि थपेको स्थानिय रामजी बलामीले जानकारी दिए ।नेपाल समाचार पत्र वाट