बुटवललाई टिप्परमुक्त शहर बनाईने : मन्त्री चौधरी

प्रकाशित मिति:

बुटवल, बैशाख २९ । प्रदेश नंं पांच सरकारका भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले बुटवललाई टिप्परमुक्त शहर बनाईने बताएका छन् । बजारको मध्यभागबाटै निर्वाध रुपमा संचालन हुने टिप्परका कारण दिनहुं दुर्घटनाको जोखिम बढिरहेको भन्दै उनले पाल्पाका विभिन्न खानी क्षेत्रबाट आउने टिप्परहरुलाई वैकल्पिक सडकको व्यवस्था गरि बजारको सडकलाई सुरक्षित बनाउने तयारी गरिएको बताए ।
सुरक्षित यात्रा अभियान नेपाल, बुटवल उपमहानगरपालिका, नेपाल अटो मोवाईल्स स्पोर्टस् एशोसिएसन लगायतका संघसंस्थाहरुको संयुक्त आयोजनामा आईतवार बुटवलमा आयोजित प्रदेश स्तरिय सडक सुरक्षा सम्मेलनमा बोल्दै मन्त्री चौधरीले सडक सुरक्षाको विषयलाई प्रदेश सरकारले प्राथमिकता दिएको बताए ।

मन्त्री चौधरीले पाल्पाका विभिन्न खानीबाट ढुंगा लगायतका वस्तु बोकि दैनिक ५ सयको संख्यामा टिप्परहरु बुटवल हुंदै आवतजावत गर्ने उल्लेख गर्दै अब ति टिप्परहरुलाई पाल्पाको झुम्सादेखि चरङगे हुंदै धागो कारखानामा आउने गरी चल्ने व्यवस्था मिलाईने बताए । मन्त्री चौधरीले जनशक्ति अभावका कारण चालु वर्षको बजेट कार्यान्वयन हुन समस्या भएको उल्लेख गर्दै सडकलाई सुरक्षित बनाउन अप्ठ्यारो भएका मोडहरुलाई सुधार गर्न जरुरी रहेको बताए ।

स्थानीय तहहरुले पनि योजना छनोट गर्दा सडकको सुरक्षालाई ध्यान दिन आग्रह गर्दै उनले अबको पांच वर्षभित्र दुर्घटनाको संख्यालाई उल्लेख्य रुपमा घटाउने दावी गरे । मन्त्री चौधरीले स्थानीय तहको वेवास्ताले टिप्परसंगै विद्युतिय रिक्सा र टेम्पोका कारण पनि बजार क्षेत्रमा दुर्घटना बढिरहेको भन्दै केहि दिनभित्रै विद्युतिय रिक्साको व्यवस्थापनमा कडाईका साथ लाग्ने बताए ।  प्रदेशसभा सदस्य वैजनाथ जैसवालले दुर्घटना र दुर्घटनापछिको प्रतिघटनाका कारणहरुको बारेमा खोजी हुन जरुरी रहेको बताए । उनले यातायात क्षेत्रको सिण्डिकेट खारेज गरिएको भनिएपनि कार्यान्वयन हुन नसकेको भन्दै यातायात क्षेत्रको सुधारको लागि यातायात व्यवस्थापन समिति आवश्यक रहेको बताए । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले स्थानीय, प्रदेश र संघ गरी तिनै तहको साझा सूचिमा रहेको सडकको निति र मापदण्ड प्रदेश सरकारले बनाउनुपर्ने बताए ।

राष्ट्रिय, प्रादेशिक, शहरी र ग्रामिण क्षेत्रका सबै सडकहरुको निर्माण तथा मर्मत भने सम्बन्धित क्षेत्रले गर्नुपर्ने उनको भनाई थियो । तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले नियम बनाउने तर कार्यान्वयन नगर्ने परिपाटीका कारण दुर्घटना न्यूनिकरण हुन नसकेको बताए ।
उनले सडकमै निर्माण सामाग्री राख्ने प्रवृत्ति र सडकमै सवारी साधन पार्किङ गर्ने परिपाटीका कारण दुर्घटनाको जोखिम बढिरहेको बताए । कार्यक्रममा सहभागिहरुले रोड सेफ्टी म्यानेजमेन्ट, रोड सेफ्टी अडिट, हाईवे र शहरी सडकको बर्गिकरण, सुरक्षित सवारीसाधन, सुरक्षित सडकको प्रयोग, निति निर्माण र त्यसको कार्यान्वयन लगायतका विषयमा ध्यान दिन सके दुर्घटना कम गर्न सकिने सुझाव दिएका थिए ।
सो अवसरमा नेपाल अटो मोवाईल्स स्पोर्टस् एशोसिएसनका महासचिव गोविन्द भट्टराई, सडक ईन्जिनियर लिला बहादुर भण्डारी तथा तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले सडक यात्रालाई कसरी सुरक्षित गर्न सकिन्छ भन्ने विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।   कार्यक्रममा सुरक्षित यात्रा अभियान नेपालका अध्यक्ष नारायण प्रसाद अधिकारी, महासचिव दिनेश पाण्डे, रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष टंक प्रसाद पोखरेलले सबैको साझा सहभागिता र समन्वय भएमात्रै सडक यात्रालाई सुरक्षित बनाउन सकिने बताएका थिए ।