चीनबाट नेपालमा रेल आउने कुरा अब सपनाको विषय रहेन : प्रचण्ड

प्रकाशित मिति:

काठमाडौं –  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले केही वर्षभित्र चीनको ल्हासाबाट काठमाडौंमा रेल आउने दावी गर्नु भएको छ । अध्यक्ष दाहालले चीनबाट नेपालमा रेल आउने कुरा अब सपनाको विषय नरहेको पनि स्पष्ट पार्नु भयो । विभूति सीता जन्मजयन्तिको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले तपाई/हामी जीवित रहँदारहँदै काठमाडौंमा रेल ल्याउने कामको सुरुवात भईसकेको उल्लेख गर्दै त्यसलाई लुम्बिनीसम्म लैजाने योजना तय गरिएको पनि बताउनु भयो ।

उहाँले चीनको ल्हासा हुँदै काठमाण्डाै र काठमाण्डाैबाट लुम्बिनीसम्म रेल संचालन गर्न सके त्यो देशकाे अर्थतन्त्र र पर्यटन विकासको क्षेत्रमा कोशेढुंगा सावित हुने पनि स्पष्ट पार्नु भयो । अध्यक्ष दाहालले लुम्बिनी–पशुपति–जनकपुरलाई जोड्ने एउटा सर्किट देशभित्रै बन्न जरुरी रहेको पनि बताउनु भयो । उहाँले नेपाल र भारत दुवै देशको शक्तिपीठहरुलाई मिलाएर एउटै शक्तिपीठ सर्किट बनाएर दुवै देशको धार्मिक पर्यटनको क्षेत्रमा क्रान्ति ल्याउने कामलाई अघि बढाइएको पनि बताउनु भयो ।

‘दुवै देशका नागरिकको आर्थिक जीवनमा गुणात्मक ढंगले समृद्धि ल्याउने गरी दुवै देशका शक्तिपीठहरुलाई जोडेर एउटै शक्ति पीठ सर्किट बनाउने योजनाका साथ दुवै देशका विद्धानहरुलाई सम्भाव्यता अध्ययन गर्ने कामको जिम्मेवारी दिइएको छ,’ अध्यक्ष दाहालले भन्नु भयो,‘यसलाई सम्भव बनाउन सके नेपालको धार्मिक पर्यटन क्षेत्रको विकासमा एउटा क्रान्ति नै आउने र दुवै देशका जनताको आर्थिक जीवनमा गुणात्मक ढंगले समृद्धि छाउनेछ ।’

अध्यक्ष दाहालले आफूले पछिल्लो पटक भारत भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शक्तिपीठ सर्किट निर्माणको विषयलाई जोड दिएर छलफल गरेको पनि स्मरण गराउनु भयो । त्यस अवसरमा अध्यक्ष दाहालले राष्ट्रिय विभूतिद्वय भृकुटी र सीताको महत्वलाई उजागर गरेर पनि मुलुकलाई समृद्ध बनाउन सकिने पनि स्पष्ट पार्नु भयो ।