नेपाल प्रहरीको प्रवक्तामा डिआईजी पोखरेल

प्रकाशित मिति:

काठमाडौं – नेपाल प्रहरीको प्रवक्तामा डिआईजी विश्वराज पोखरेल नियुक्त भएका छन् । डिआईजीमा पदोन्नति भएसँगै पोखरेललाई प्रहरी प्रवक्तामा नियुक्त गरिएको हो । यसअघि नेपाल प्रहरीको प्रवक्तामा एसएसपी उत्तमराज सुवेदी थिए । प्रवक्ताको जिम्मेवारी सम्हालेसँगै बाह्रखरीसँग कुरा गर्दै पोखरेलले जनता र प्रहरीबीचको सम्बन्धलाई थप मजबुत बनाउन आफू लागिपर्ने बताए । उनले भने, ‘‘संगठनले दिएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्नेछु । सरोकारवाला सबै निकायसँग समन्वय गरेर अगाडि बढ्छु ।’’

यसअघि ६ महिनादेखि रिक्त रहेको नेपाल प्रहरीको डिआईजी पदमा पोखरेलको एकल सिफारिस भएको थियो । डिआईजी सुशील भण्डारीको काभ्रेमा भएको सवारी दुर्घटनामा ज्यान गएपछि प्रहरीमा डिआईजीको एक पद रिक्त थियो । पोखरेल आफ्नो व्याचबाट डिआईजी हुने एकल व्यक्ति हुन् । गत साता बसेको बढुवा समितिको बैठकले उनलाई प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ उप–नियम (४) को प्रावधान अनुसार एसएसपीबाट  डिआईजीमा बढुवाको सिफारिस गरेको थियो । पोखरेल यसअघि लागुऔषध नियन्त्रण व्युरोमा कार्यरत थिए ।