झन्झटिलो प्रक्रियाले औषधि खरिदमा समस्या : यादव

प्रकाशित मिति:

काठमाडौं – उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले झन्झटिलो प्रक्रियाका कारण औषधि तथा स्वास्थ्यका उपकरण खरीद प्रक्रियामा समस्या परेको बताएका छन् । प्रतिनिधिसभा, शिक्षा र स्वास्थ्य समितिको मंगलबारको बैठकमा उनले औषधि संवेदनशील क्षेत्र भएकाले यसलाई बोलपत्रभन्दा अन्य प्रक्रियाले खरीद गर्नुपर्ने व्यवस्था मिलाउन आवश्यक रहेको बताए। औषधि र उपकरण कम दरभाउको बोलपत्रबाट खरीद गर्ने परम्पराले जनता गुणस्तरीय स्वास्थ्य सेवा पाउनबाट वञ्चितसमेत हुन पुगेको र खरीद गरिएका औषधिका पनि तीन महीनामा समयावधि सकिने उनले बताए ।

संविधान कार्यान्वयन गर्न बनेका प्रजनन स्वास्थ्य तथा जनस्वास्थ्य ऐनको प्रभावकारी कार्यान्वयन गर्न नियमावली आउन लागेको जानकारी दिँदै उनले कर्मचारी समायोजन प्रक्रियाले स्वास्थ्य क्षेत्रमा असर परेको बताए । स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गर्न आवश्यक रहेकामा जोड दिँदै उनले स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ नीति ल्याउन लागिएको जानकारी दिए ।

समितिको बैठकमा समितिका सभापति जयपुरी घर्तीलाई स्वास्थ्य तथा जनसङ्ख्या उपसमितिका संयोजक खगराज अधिकारीले प्रतिवेदन हस्तान्तरण गरे । छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई अनिवार्य दुर्गम क्षेत्रमा सेवा गर्नुपर्ने प्रावधानलाई अनुगमन गर्नुपर्ने, सरकारी सबै अस्पतालका सम्पत्ति संरक्षणमा ध्यान दिनुपर्नेलगायतका सुझाव प्रतिवेदनमा छ ।