मिडिया काउन्सिल विधेयक फिर्ता माग गर्दै प्रेस युनियन देशव्यापी आन्दोलनमा

प्रकाशित मिति:

बुटवल – सभामुख कृष्णबहादुर महराले सर्वत्र चासोको विषय बनेको मिडिया काउन्सिल विधेयकबारे आफूू गम्भीर बनेको बताएका छन् । मंगलबार नेपाल प्रेस युनियनका पदाधिकारीहरुको ज्ञापनपत्र बुझ्दै सभामुख महराले संसदमा गत बिहीबार दर्ता भएको विधेयकका बारेमा प्रेस जगतमा चर्को विरोध भएकाले त्यसलाई फिर्ता गर्न वा अन्य विकल्पका बारेमा सल्लाहकारी भूमिका खेल्न आफू तयार रहेको बताएका छन् ।

उनले संसदमा दर्ता भएको विधेयक फिर्ता लिन सकिन्छ कि भनी मगलबारै संचारमन्त्री गोकुलप्रसाद बास्कोटासंग कुरा गर्ने पनि बताए । सभामुख महराले आफू प्रेस स्वतन्त्रताको पक्षमा रहेकाले त्यसमा कुनै सम्झौता हुन नसक्ने जिकिर गरे । यसैबीच संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै नेपाल प्रेस युनियन देशब्यापी आन्दोलनमा उत्रिएको छ । मंगलबार युनियनले ७७ वटै जिल्लाबाट प्रमुख जिल्ला अधिकारीमार्फत सभामुख र राष्ट्रिय सभा अध्यक्षलाई ज्ञापनपत्र बुझाएको छ ।