लगानी गर्नकोलागि ढोका खुला छः उद्योगमन्त्री यादव

प्रकाशित मिति:

रुपन्देही -संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका प्रसाद यादवले लगानी गर्नका लागि लगानी कर्ता इच्छुक भए ढोका खुला रहेको बताएका छन् ।विशेष आर्थिक क्षेत्र प्राधिकरण भैरहवामा अवस्थित श्री शक्ति मिनरल्स् प्रा.लि.को मंगलबार उद्घाटन गर्दै मन्त्री यादवले लगानी गरेर व्यवसाय गर्न चाहेमा सरकारले ढोका खुला गरेको बताए ।

मन्त्री यादवले उद्योग दर्ताका लागि बुधबार देखि मन्त्रालयमा एकद्धार प्रणालीको सुरुवात गर्न लागेको जानकारी दिए । उनले २०७३ साल देखि भनिदै आएपनि बुधबार देखि एकद्धार प्रणालीको सुरुवात गरिने बताए । साढे १४ महिना देखि मैले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालिरहेको छु, अब भने उद्योग दर्ताको लागि विभिन्न मन्त्रालय धाउनुपर्दैन, सबै कागजपत्र लिएर एकै ठाउँमा दर्ता हुने व्यवस्था गर्दैछौं, उनले भने ।

उद्योगी तथा लगानीकर्ताहरुलाई उद्योग दर्ता गर्ने क्रममा अन्य मन्त्रालयमा काम परे त्यो उद्योगी र लगानीकर्ताको जिम्मेवारी नभइ त्यहाँ रहेका कर्मचारीले सहजीकरण गर्ने उनले बताए  ढोकामा लागेको खिया सफा गर्नेछौं, कागजमा लेखेर मात्र हुँदैन, व्यवहारमा लागू गर्नुपर्छ, उनले भने ।निर्यातमुखी उद्योग स्थापना गर्नुपर्ने आवश्यकता रहेको मन्त्री यादवले बताए । उनले आयात ९४ प्रतिशत र निर्यात ६ प्रतिशत मात्र रहेकोले उत्पादनमा बढी जोड दिनुपर्ने बताए ।अब स्थापना हुने उद्योगहरु प्रदुषणरहित हुनुपर्ने मन्त्री यादवले बताए । प्रदुषणलाई मन्त्रालय र जनताले स्वीकार्न नसक्ने उनको भनाइ थियो । उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्नुपर्छ भन्नेतर्फ सरकार गम्भिरतापूर्वक अगाडी बढेको उनले बताए ।नयाँ नीति बनाएर सरकार नीजि क्षेत्रसँग सहकार्य गरेर वा लिजमा लिएर भए पनि उद्योगहरु सञ्चालन गर्ने पक्षमा सरकार रहेको उनले बताए ।

व्यवस्था अनुसार रुपान्तरण गर्न नसक्दा समस्या निम्तिएको उनले बताए । सबैभन्दा चुनौती व्यवस्था असफल हुनु भनकै व्यवस्था अनुसार आफुलाई रुपान्तरण गर्न नसक्नु हो, उनले भने ।अरुलाई भ्रष्टाचार नगर, त्याग गर भन्ने र आफुले खल्ती भर्ने प्रवृत्तिले मुलुकको विकास हुन नसक्ने उनको भनाइ थियो । सरकारले समृद्ध नेपाल, सुखी नेपालीको नारासंगै काम समेत गरिरहेको उनले बताए । नारा दिएर मात्र सम्भव छैन, सरकारले काम गरिरहेको छ, सकारात्मक सोचको आवश्यकता छ, उनले भने ।दुईचार जना मोटाउने प्रवत्तिको अन्त्य गरी समावेशी अर्थतन्त्रमा जोड दिनुपर्छ, संविधानमा पनि त्यो उल्लेख छ, उनले भने ।कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव याम कुमारी खतिवडाले उद्योग स्थापना मार्फत मुलुकमै रोजगारी सिर्जना गर्ने मन्त्रालयको लक्ष्य रहेको बताइन् । उनले विशेष आर्थिक क्षेत्र (सेज)मा अन्य उद्योग पनि छिट्टै सञ्चालनमा आउने विश्वास व्यक्त गरिन ।

प्रदेश नम्बर ५ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद के.सी.ले प्रदेश सरकारले उद्योगहरुलाई व्यवस्थित गर्नुपर्छ भन्नेतर्फ लागेको बताए । विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टले विशेष आर्थिक क्षेत्र (सेज)ले देशको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने बताए ।शक्ति मिनरल्स प्रा.लि.का अध्यक्ष विनोद कुमार श्रेष्ठले ४० करोड लगानीमा स्थापना गरिएको उद्योगले उद्योग स्थापनाको पहिलो अनुमति (लाइसेन्स) प्राप्त गर्न सफल भएको बताए । यो उद्योग नेपालमा खनिज पदार्थ प्रशोधन गर्ने पहिलो उद्योगका रूपमा रहने र यसले स्वदेशी कच्चा पदार्थबाट स्टिल्सका लागि आवश्यक पर्ने फ्लक्स उत्पादन गरी भारत तथा अन्य विदेशी मुलुकमा निर्यात गर्ने उनले बताए । उद्योगमा १५५ जनाले प्रत्यक्ष र ५०० जनाले अप्रत्यक्ष रोजगारी पाएको श्रेष्ठले जानकारी दिए ।५२ विगाहमा फैलिएको विशेष आर्थिक क्षेत्र (सेज) मा ६९ वटा प्लट रहेको छन् ।सेजमा स्थापना हुने उद्योगले आफ्नो उत्पादनको ७५ प्रतिशत विदेश निकासी गर्नैपर्ने प्रावधान छ । यस्ता उद्योगहरूलाई सरकारले १५ वर्ष कर छुट सुविधा दिएको छ ।