एकल महिलालाई घर हस्तान्तरण

प्रकाशित मिति:

नवलपरासी – सडक दुर्घटनामा श्रीमान् गुमाएकी पूर्वी नवलपरासी कावासोतीकी एक महिलालाई विभिन्न चन्दादाताको सहयोगमा घर निर्माण गरी हस्तान्तरण गरिएको छ । विसं २०७४ मङ्सिर ६ गते सडक दुर्घटनामा ज्यान गुमाएका रोशनबहादुर ठाडामगरका श्रीमती देवकी ठाडामगरको आर्थिक अवस्था कमजोर भएका  कारण कालिका नारी विकास मञ्चको सक्रियतामा समाजसेवी विष्णुकुमार कार्की, कर्णेल धनबहादुर मास्की रानाले नयाँ घर निर्माण गरी हस्तान्तरण गर्नु भएको हो । कर्णेल धनबहादुरले विभिन्न सहयोगी दाताबाट सङ्कलन भएको रु ४० हजारसमेत देवकीलाई हस्तान्तरण गर्नुभएको थियो ।

अस्पताल स्थापना गर्न माग  – अस्पताल स्थापनाको विषयलाई लिएर पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं ७ र ८ का जनप्रतिनिधिसहित स्थानीयवासी आन्दोलित भएका छन् । सुनवल–८ मा रहेको सुनवल स्वास्थ्यचौकीको स्तरोन्नतिका लागि स्वास्थ्य मन्त्रालयबाट रकम विनियोजित भए पनि सो रकमबाट अन्य स्थानमा स्वास्थ्य संस्था स्थापना गर्ने प्रक्रिया अघि बढाइएको विरोधमा आन्दोलनमा उत्रिन बाध्य भएको वडा नं ८ का वडाध्यक्ष एवं सुनवल स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष नीलकण्ठ गैरेले बताउनुभयो ।

स्तरोन्नति गर्न आएको बजेटलाई केही जनप्रतिनिधिले अन्य स्थानमा लैजाने प्रक्रिया अघि बढाइपछि आन्दोलनमा उत्रिन बाध्य भएको वडा नं ७ वडा सदस्य विनोद पाण्डेले बताउनुभयो । नगरपालिका सो रकमबाट वडा नं ३ र ५ को बीचमा पर्ने मिनी वनकट्टीमा अस्पताल स्थापना गर्ने पक्षमा देखिएको छ । सुनवल स्वास्थ्यचौकीको स्तरोन्नतिका लागि आउने बजेटलाई सोही स्थानमा खर्च गर्नुपर्ने वडा नं ७ का वडाध्यक्ष वसन्त दाहालले बताउनुभयो । सुनवल नगरपालिकाले सबैलाई पायक पर्ने स्थानमा स्वास्थ्य संस्था स्थापना गर्न लागेको नगरप्रमुख भीमबहादुर थापाले जानकारी दिनुभयो । सुनवल स्वास्थ्यचौकीको स्तरोन्नति गरी १५ श्ययाको प्राथमिक अस्पताल बनाउनका लागि स्वास्थ्य मन्त्रालयले बजेट विनियोजन गरेको हो ।