संसद र सडक घेराउ गर्छौं : देउवा

प्रकाशित मिति:

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिडिया काउन्सिल विधेयक फिर्ता नलिए सरकारलाई संसद र सडकबाट घेराउ गर्ने बताएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा नेपाल पत्रकार महासंघ र नेपाल प्रेस यूनियनका प्रतिनिधिहरुसँगको छलफलमा सभापति देउवाले विधेयक फिर्ता नलिए सरकारलाई संसद र सडकबाट घेराउ गर्ने चेतावनी दिएका हुन् ।

संसदीय दलकै बैठकमा महासंघ र यूनियनका पदाधिकारी र पूर्वपदाधिकारीलाई सहभागी गराएर देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने कुनै पनि कार्य कांग्रेसलाई स्वीकार्य नहुने बताए । छलफलका क्रममा उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लडाइँमा आफू सधैं नेपाली प्रेस जगतको साथमा रहने प्रतिवद्धतासमेत जनाए ।

‘वीपीले प्रजातन्त्रको सिद्धान्त प्रतिपादन गरेकै दिनबाट हामीहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा छौं । सरकार यसको खिलापमा गइरहेको छ । हामी सदन र सडकबाट सरकारलाई घेर्छौं । प्रेस माथिको आक्रमण हामी सहदैनौं । सरकारले विधेयक फिर्ता लिनुपर्छ,’ सभापति देउवाले भने । छलफलका क्रममा सभापति देउवाले मानवअधिकार सम्बन्धि विधेयक र सुरक्षा परिषद् सम्बन्धि विधेयकमा पनि आपत्ति जनाएका थिए । पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, महासचिव रमेश विष्ट, पूर्व अध्यक्ष डा. सुरेश आचार्य र प्रेस यूनियनका अध्यक्ष सिग्देल छलफलमा सहभागी थिए ।