७८ लाख घुस लिएका राजनारायण पाठक अदालत हाजिर

प्रकाशित मिति:

काठमाडौं – सेवाग्राहीसँग घुस लिएको अभियोग लागेका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक विशेष अदालतमा हाजिर भएका छन् । अदालतका प्रवक्ता पुष्पराज पाण्डेका अनुसार अहिले उनको बयान विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, न्यायाधीशहरू द्वारिका जोशी र प्रमोद कुमार श्रेष्ठ वैद्यको इजलासमा चलिरहेको छ ।

पाठक अदालतले उपस्थित हुन पठाएको म्यादभित्रै उपस्थित भएका हुन्। उनी बिहान ९ बजे विशेष अदालत गएका थिए । ७८ लाख रूपैयाँ घुस लिएको भन्दै तत्कालिन अख्तियार आयुक्त राजनारायण पाठकविरुद्ध अख्तियारले नै चैत १२ गते मुद्दा दायर गरेको थियो । आयोगले घुस लिने तत्कालीन आयुक्त पाठक र दिने नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेलाई प्रतिवादी बनाइएर विशेष अदालतमा अभियोग पत्र बुझाइएको छ ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ र त्यसको (ज) अनुसार कारबाही माग गरिएको छ। त्यसमा दफा २४ अनुसार थप सजाय माग गरिएको छ । कसुर प्रमाणीत भए यी दुवै कानुन अनुसार पाठकले ९ देखि ११ वर्षसम्म कैद भुक्तान र ७८ लाख नै जरिवाना तिर्नुपर्ने छ। त्यसमाथि उनले घूस लिएको रकम बराबरको सम्पत्ति जफत हुने छ । न्यौपानेले भने ७८ लाख जरिवाना र ६ देखि ८ बर्षसम्म कैद सजाय भोग्नुपर्ने छ । पाठकले घूस लिएको समाचार बाहिरिएपछि उनले पदबाट राजिनामा दिएका थिए । अख्तियारले १२ थान डिभिडी, २ थान पेन ड्राइभमा भिडियो तथा अडियो राखेर अदालतमा बुझाएको छ ।