समाजबादउन्मुख वजेट आउँछ – अर्थमन्त्री

प्रकाशित मिति:

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले दीगो विकासको अवधारणालाई बजेटले आत्मसात् गर्ने बताउनुभएको छ । उहाँले मुलुकको सम्मृद्धिलाई समाजवाद तर्फको बाटोमा अघि बढाउने गरी वजेट आउने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे सांसदहरुबाट उठेका प्रश्नको जवाफ दिदै मन्त्री खतिवडाले द्वन्द्व नबढाउने, शान्ति प्रक्रियालाई बलियो बनाउने, असमानता घटाउने, पूँजीले श्रमको शोषण नगर्ने र भएको आर्थिक वृद्धिको समन्यायिक वितरणलाई नै बजेटले आत्मसाथ गर्ने बताउनुभएको हो । उहाँले क्षेत्रगत भन्दा नीतिगत प्राथमिकतालाई बजेटले आत्मसाथ गर्ने स्पष्ट पार्नुभयो ।

खासवर्ग र क्षेत्रबाट निर्देशित आर्थिक वृद्धि अर्थात् वित्तीय पूँजीवाद र प्रविधिमा आधारित पूँजीवादले श्रमको शोषण गर्ने भएकाले दीगो नहुने दाबी उहाँले गर्नुभयो । आर्थिक वृद्धिको आधार फराकिलो भएमात्रै दिगो विकास हुने उल्लेख गर्दै उहाँले आर्थिक वृद्धि सँगसँगै सामाजिक न्याय र वितरण प्रणाली तथा सबैलाई सामाजिक संररक्षण र सुरक्षाजस्ता राज्यका निर्देशक सिद्धान्तबाट नै बजेट निर्देशित हुने स्पष्ट पार्नुभयो । सरकारले अपनाएको राजनीतिक, आर्थिक प्रणाली तथा अन्तर्राष्ट्रिय आर्थिक सम्बन्धभित्र रहेर बजेटको मोडल तयार गर्नुपर्ने बताउनुभयो । संविधान र राज्यको निर्देशक सिद्धान्तअनुसार नै बजेटको मोडल तयार गरिने भन्दै उहाँले त्यो मोडलले मुलुकको सम्मृद्धिलाई समाजवाद तर्फको बाटोमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो । आर्थिक वृद्धि विनाको वितरण गरिवीको मात्रै वितरण हुने, आर्थिक वृद्धि न्यायोचित नभए दीगो नहुने र अन्तत त्यसले बढाउने असमानताले द्धन्द्ध निम्त्याउने तर्क उहाँले गर्नुभयो ।

उहाँले वित्तिय संघीयता कार्यान्वयन गर्ने तथा स्रोतको बाँडफाँडको विषयमा आवश्यक कानुनहरु बनेकाले यसले विस्तारै पूर्णता पाउने बताउनुभयो । संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य र परिपूरक भूमिका अनुसार नै आर्थिक र राज्य प्रणाली सञ्चालन हुने तथा आयोजना कार्यान्वयनका सम्बन्धमा निश्चित मापदण्ड बनाएर अघि बढ्ने स्पष्ट पार्नुभयो । उहाँले साधन, स्रोत, जनसंख्या र भूगोल तथा मानवविकास सूचकांक लगायतलाई आधार बनाउदै सन्तुलित बजेट आउने विश्वास दिलाउनुभयो ।