विराटनगर – संसदमा दर्ता भएको नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको प्रावधान प्रति विरोध जनाउँदै मोरङका पत्रकार आन्दोलित बनेका छन् ।
विधेयकको प्रावधानप्रति विरोध जनाउँदै नेपाल पत्रकार महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। आन्दोलन अन्तर्गत बुधबार पत्रकारहरु हातमा कालो पट्टी बाँधेर कार्यक्षेत्रमा खटिएका छन्। यसक्रममा नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोख्रेलले प्रेस स्वतन्त्रता विरोधी विधेयकको विरोधमा आन्दोलन गर्नु परेको बताए। नेपाल पत्रकार महासंघ प्रदेश एकका महासचिव विवेक गौतमले कानुन बनाउने नाममा सरकारले पत्रकारको घाँटीमा खतरनाक तरवार झुन्ड्याउन लागेको आरोप लगाए।
‘समाचार लेखेकै कारण पत्रकारले जेल जानु पर्ने अवस्थाको सिर्जना गरिएको छ। लाखौँ रुपैयाँ जरिवानाको रुपमा तिर्नुपर्ने छ,’ उनले भने। कार्यक्रमपछि प्रेस युनियन मोरङका सभापति कुमार लुइटेलले विधेयक सच्चाउनुपर्नेमा जोड दिए। उनले भने, “यस विधेयक कानुन भएर प्रस्तुत हुदाँ पत्रकारको काम प्रभावित हुनेछ। समाचार डर र त्रासकाबीचमा लेख्नुपर्ने हुदाँ स्वतन्त्र पत्रकारिता गुम्ने भय रहनेछ। स्वतन्त्र पत्रकारितामाथि अंकुश लाग्नेछ।”
कार्यक्रममा उपस्थित पत्रकारहरुले मिडिया काउन्सिल विधेयकका केही प्रावधानले संविधानले प्रदत्त गरेका सूचनाको हकलाई समेत संकुचन गर्ने जनाएका थिए। सो विधेयक मन्त्री परिषद्बाट पारित भई वैशाख २६ गते संसदमा दर्ता भएको थियो। प्रेस स्वतन्त्रतालाई संकुचित बनाउने गरी सरकारले कानुन बनाउन लागेको भन्दै देशभरका पत्रकारले सुरु गरेको आन्दोलनमा मोरङका पत्रकारले पनि साथ दिएका हुन् ।