मेलम्ची खानेपानी आयोजनाको बाँकी काम तत्काल अघि बढाउन सरकारलाई विकास समितिकाे निर्देशन

प्रकाशित मिति:

काठमाडाैं- संसदीय समितिले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको बाँकी काम तत्काल अघि बढाउन सरकारलाई निर्देशन दिएको छ। संघीय संसदअन्तर्गत प्रतिनिधिसभाकाे विकास तथा प्रविधि समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम तत्काल अघि बढाउन खानेपानी मन्त्रालयलाई कडा निर्देशन दिएको हो। काठमाडौं उपत्यकाबासीको प्रतिक्षाको विषय बनिरहेको मेलम्ची खानेपानी आयोजनाको बाँकी कामलाई तत्काल अघि बढाउन सरकारलाई पुनः निर्देशन दिइएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन्।

त्यसैगरी समितिले सरकारको नीति तथा कार्यक्रम अनुसारनै आगामी आर्थिक वर्षको बजेट निर्माण गर्न/गराउन पनि खानेपानी मन्त्रालयलाई सचेत गराएको छ। समितिले राष्ट्रिय खानेपानी तथा सरसफाई नीति र सोसम्बन्धी ऐन शिघ्र तर्जुमा गरी कार्यान्वयनमा ल्याउन पनि सरकारलाई निर्देश गरेको छ। त्यसैगरी स्वच्छ खानेपानी वितरण प्रणालीलाई व्यवस्थित बनाउन, भूकम्पले क्षति पुर्‍याएका खानेपानी आयोजनाहरु छिटो सञ्चालनमा ल्याउन पनि सरकारलाई सचेत गराइएको समितिकी सभापति खड्काले बताइन्।

बैठकमा खानेपानी मन्त्री विना मगरले मन्त्रिपरिषद्‌मा छलफल गरेर मेलम्ची खानेपानी आयोजनाको बाँकी कामलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन्। उनले स्वच्छ खानेपानीको अभाव हुन नदिने गरी सरकारले आवश्यक कामकारबाहीलाई अघि बढाइएको दाबी पनि गरिन्। इटालियन कम्पनी ‘सिएमसी’ले मेलम्ची खानेपानीको बाँकी काम अलपत्र छोडेर हिँडेपछि त्यसलाई अघि बढाउन नसकेको भन्दै मन्त्री मगरको आलोचना भइरहेको छ।