अमेरिकाको अलबामामा गर्भपतन प्रतिबन्ध, बलात्कारमा पनि छुट नहुने

प्रकाशित मिति:

अमेरिका – अलबामा राज्य सिनेटले गर्भपतन रोक्नेसम्बन्धी अमेरिकामै सबभन्दा कडा विधेयक पारित गरेको छ। सिनेटद्वारा मंगलबार पारित विधेयकमा अलबामामा गर्भपतन पूर्णरूपमा प्रतिबन्ध लगाइने बिबिसीले जनाएको छ। साथै गर्भपतनमा सहयोग गर्ने डाक्टर वा स्वास्थ्यकर्मीलाई आजीवन कैदको सजाय हुन सक्नेछ।

अलबामामा रिपब्लिकन पार्टीको बहुमत छ। सिनेटले पारित गरेको नयाँ विधेयक प्रमाणिकरण गराउन गभर्नर के आइभी कहाँ पुगेको छ। गभर्नर के आइभीले विधेयकमा हस्ताक्षर गरेपछि त्यसले कानुनको रुप लिनेछ। गभर्नर आइभीले यसमा हस्ताक्षर गर्ने/नगर्ने बारे केही बोलेकी छैनन्। तर उनी गर्भपतन रोक्ने कानुन विरोधी रहेको बताइएको छ।

नयाँ विधेयकले आमाको स्वास्थ्य जोखिममा पर्ने विशेष अवस्थाहरूमा मात्र गर्भपतन छुट दिनेछ। बलात्कार वा हाडनाता करणीबाट गर्भ रहे पनि गर्भपतन गराउने छुट हुने छैन। अमेरिकाका १६ राज्यमा पहिले नै गर्भपतन प्रतिबन्ध भइसकेको छ। सन् १९७३ मा सर्वोच्च अदालतले दिएको आदेशले अमेरिकामा गर्भपतन कानुनी पाएको थियो। अहिले बहुसंख्यक रिपब्लिकन पार्टीका सदस्यहरू उक्त आदेश खारेजीको माग गरिरहेका छन्। रिपब्लिकन सांसद टेरी कोलिन्सले भनेका छन्, ‘हाम्रो विधेयकले गर्भमा भएको बच्चालाई मान्छे नै ठान्छ।’

अब यो विधेयक पारित भए अलबामामा जुनसुकै समयको गर्भपतनलाई अपराध मानिनेछ। गर्भपतन प्रयासमा सघाउने डाक्टरलाई दस वर्ष र गर्भपतन गराउनेलाई ९९ वर्ष कैद हुनेछ। आमाको ज्यान जोखिममा पर्ने पुष्टि भए मात्र गर्भपतन गराउन पाइनेछ। गर्भपतन गराउने महिलालाई भने अपराधी मानिनेछैन।