शाइन रेसुङ्गासँग भार्गव विकास बैंक पनि मिसिने

प्रकाशित मिति:

काठमाडौं। शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले भार्गव विकास बैंकलाई एक्वायर गर्ने भएको छ। प्राप्ति समझदारी पत्रमा शाइन रेसुङ्गाका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र भार्गवका अध्यक्ष डम्बरबहादुर थापाले हस्ताक्षर गरेका छन्। शाइन रेसुङ्गा १० जिल्ला कार्यक्षेत्र भएको बैंक हो। रुपन्देही, अर्घाखाँची, नवलपरासी, पाल्पा, गुल्मी, कपिलवस्तु, दाङ, प्यूठान, बाग्लुङ र चितवन यसको कार्यक्षेत्र हो।

पाँच जिल्ला कार्यक्षेत्र भार्गवको छ। बैंकका बाँके, बर्दिया र दाङमा शाखा छन्। प्राप्तिपछि सिनर्जी प्रभाव पर्न गई कारोवारमा उल्लेख्य बृद्धि हुने दुबै बैंकले जनाएका छन्।यसअघि शाइन रेसुङ्गाले पूर्णिमा विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने सहमति गरेको थियो। उनीहरुलाई राष्ट्र बैंकले गत १६ गते नै सैद्धान्तिक सहमति दिइसकेको छ।

बैंकिङ क्षेत्रमा विद्यमान प्रतिस्पर्धात्मक अवस्था, राष्ट्र बैंकबाट जारी भएका नीति नियमहरुले भविष्यमा पार्न सक्ने असरहरु, सरकारी प्रोत्साहन र प्राप्तिपछि प्राप्त हुने अवसरहरु लगायतका तथ्यहरु मनन गरी गाभिन लागेको बैंकले जनाएको छ।प्राप्तिपछि नाम शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक नै हुने छ। प्राप्तीपपछि सञ्चालक समितीको अध्यक्षमा हाल शाइन रेसुङ्गाका अध्यक्ष श्रेष्ठले नै निरन्तरता पाउने छन्। प्रमुख कार्यकारी अधिकृतमा पनि शाइन रेसुङ्गाका प्रकाश पौडेलकै निरन्तरता हुने छ। भार्गवका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशी नायव कार्यकारी प्रमुख हुने छन्।सम्पत्ति र दायित्वको मूल्याङ्कनपछि कायम हुने स्वापका आधारमा शेयर अनुपात निर्धारण गरिने भएको छ।