चीनमा एक लाखले हेरे नेपाल मण्डप

प्रकाशित मिति:

काठमाडौं – चीनको राजधानी बेइजिङमा प्रदर्शन गरिएको नेपाल मण्डल करिब एक लाख दर्शकले अवलोकन गरेका छन् । चीन भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले १५ वैशाखमा लोठ सल्लाको विरुवा रोपेर मण्डप उद्घाटन गरेकी थिइन् । नेपाली मण्डप हालसम्म एक लाख दर्शकले अवलोकन गरिसकेको आयोजक इम्पिलिमेन्टिङ एक्स्पर्ट ग्रुपका राष्ट्रिय संयोजक विनायक शाहले जानकारी दिए । ‘हरित जीवन : उत्तम जीवन’ मूल विषयवस्तुमा केन्द्रित रहेर आयोजित प्रदर्शनीमा ‘लुम्बिनी शान्ति बगैचा’ निर्माण गरी बुद्ध जन्मिएको देश नेपालमा प्रकृति र जीवनबीच रहेको अन्योन्याश्रति सम्बन्ध देखाउन खोजिएको आयोजक संस्थाका अध्यक्ष तथा डेपुटी कमिश्नर जनरल (टेक्निकल) अमृत शाक्यले बताए ।

१५ फिट अग्लो ध्यानमग्न बुद्धको विशाल मूर्ति बीचमा राखेर नेपालको कृषि, वन वनस्पति सम्पत्तिको शोधखोज एवम आर्थिक तथा व्यापारिक विकासका ठूला योजना भित्राउन चिनियाँ तथा अन्तर्राष्ट्रिय प्रविधि र लगानी आकषिर्त गर्ने प्रयास भएको शाहको भनाइ छ । चिनियाँहरुको नेपाल भ्रमण प्रतिको बढ्दो मोहलाई लक्षित गरी नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसारमा पनि पर्याप्त ध्यान दिइएको छ । आगामी आश्विन २ मा एक्स्पो रहेको स्थानमा ‘नेपाल दिवस’ मनाउने कार्यक्रम छ ।

११० राष्ट्र तथा २४ अन्तर्राष्ट्रिय संस्था सहभागी प्रदर्शनी पाँच सय हेक्टर क्षेत्रफलमा फैलिएको छ । आगामी कात्तिकसम्म चल्ने एक्स्पो १६ करोड मानिसले प्रत्यक्ष तथा विश्वव्यापी रुपमा एक अर्बभन्दा बढीले विभिन्न सञ्चार तथा प्रविधिका माध्यमबाट अप्रत्यक्ष रुपमा अवलोकन गर्ने बताइएको छ । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको संयोजनमा आधिकारिक आयोजक नियुक्त भएको इम्प्िलमेन्टिङ एक्स्पर्ट ग्रुपबाट सो विश्व प्रदर्शनीमा नेपाल सहभागिता भएको हो ।