बिमा कम्पनीहरुको गुणात्मक वृद्धि हुनुपर्नेमा अर्थमन्त्रीको जोड

प्रकाशित मिति:

काठमाडौं – जोखिम न्यूनीकरणका लागि जीवन तथा निर्जीवन बीमा गर्ने कम्पनीहरु आफैं असुरक्षित हुने गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन्  बुधबार राजधानीमा आयोजित बिमा संस्थानको ५१ औँ वार्षिकोत्सवका अवसरमा डा.खतिवडाले यस्तो धारण व्यक्त गरेका हुन् । पछिल्लो समय बीमा कम्पनीहरुको संख्यात्मक वृद्धि भएपनि गुणात्मक वृद्धि हुन नसकेको जिकिर गर्दै डा. खतिवडाले अब कम्पनीहरुले दीर्घकालीन योजनासहित टिक्नेगरी अघि बढ्नु पर्ने बताए ।

‘आजभोलि बैंक तथा वित्तीय संस्थानहरु जस्तै बीमा कम्पनीहरुको दायरा समेत फराकिलो हुँदै गएको छ । अब बीमा कम्पनीको नियामक निकाय बीमा समिति सक्रिय हुनुपर्छ’ उनले भने, ‘बजारमा व्यापक अस्वस्थ प्रतिस्पर्धा छ । कमाउनकै लागि बिमा कम्पनीहरु आफ्नो सीमा नाघेर काम गरिरहेका छन् । चाहिने भन्दा बढी स्किमहरु विज्ञापन गरिरहेका छन् । यसले सेवाग्राही प्रताडित छन् ।’

उनले आफूलाई केके र कुनकुन खालको जोखिमको सुरक्षण चाहिएको अब बिमित पनि स्पष्ट हुनुपर्ने अतिवडाले बताए । अन्यथा जोखिम सुरक्षणका लागि बीमा गरिएपनि उल्टै असुरक्षित बन्ने खतरा बढ्नसक्ने तर्फ उनले सचेत गराए । खुल्ला बजार र खुल्ला अर्थतन्त्रकै कारण नीजि कम्पनीहरुले सहजै लाईसेन्स पाएको तर कारोबार भने प्रभावकारी रुपमा गर्न नसकेको अर्थमन्त्री खतिवडाको भनाई छ ।

‘बीमा कम्पनीमा न्यूनतम चुक्तापुँजी सिलिङ्गको व्यवस्था गर्दा कम्पनी र सेवाग्राही दुबै सुरक्षित हुन्छन् । यसले कम्पनीमा पुँजी अभाव हुन दिँदैन भने सेवा ग्राहीको बीमा दाबी समेत समयमानै सम्वोधन हुन्छ’, उनले भने, ‘अब चुक्तापुँजी नपुगेका कम्पनीहरुले पुँजी विस्तारमा लाग्नुपर्छ । त्यसका लागि मर्जरको प्रक्रिया समेत खुल्ला रहेको छ ।’ २०७५ साल असार मसान्तसम्म निर्जीवन बिमाले १ अर्ब रुपैयाँ र जीवन बिमाले २ अर्ब रुपैयाँ न्यूनतम चुक्तापुँजी पुर्याउनुपर्ने भनिएको थियो । सोही निर्देशिकामा तीन—तीन महिना गरेर २ पटक थप समय दिनसक्ने प्रावधान समेत राखिएको थियो । जुन २०७५ पुस मसान्त हो । अहिले यो समयसिमा समेत सकिएको छ । अहिलेसम्म पनि अधिकांश बिमा कम्पनीहरुले पुँजी वृद्धिका लागि काम गरेका छैनन् ।