यार्सा सिजन नखुल्दै स्थानीय बुकितिर : गाँउ सुनसान, बिद्यालय बन्द !

प्रकाशित मिति:

धनवीर दाहाल/रुकुम पुर्व – दशैं भन्दा पनि ठुलो पर्वको रुपमा लिने यार्सा सिजन खुल्ला नहुँदै स्थानीयहरु बुकीतिर लागीसकेका छन् । स्थानीय भाषामा जीबनबुटीको नामले चिनिने यार्सागुम्बा स्थानीयहरुको जीबन धाँन्ने बुटी नै बनेको छ । पुथा उत्तरगंगा गाँउपालिकाको १ र २ वडाका पुपाल, अरिबिजा,जंगला,पुर्वाङ, भित्रिवन लगाएतका ठाँउमा यार्सा पाइने भएकोले स्थानीयहरु यार्सा सिजन सुरु नहुँदै गाँउ सुनसान पारेर लेकतिर लागेका हुन् ।

मजदुरीको लागि भारत तथा अन्य खाडी मुलुक गएर बर्षभरी दुःख गरेर ज्यान पाल्न धौ धौ भए पनि दुई महिना यार्सा टिप्दा धेरै सजिलो हुने भएपछि मजदुरीको पहिलो रोजाइ यार्सा टिप्न जानु नै बनेको छ । छोटो समयमै बढि आम्दानी हुने भएकाले मानिसहरुको आर्कषण यार्सा टिप्नुमा नै बढि देखिन्छ । यो क्षेत्रका स्थानीय बासिन्दाले प्रतिव्यक्ति ५० हजारदेखी ५ लाख सम्म आम्दानी गर्ने गर्दछन् ।

हरेक वर्ष ९ करोडदेखि १० करोड रुपैयाँसम्म कारोबार हुने यार्साको राजस्व भने न्यून मात्रै सरकार समक्ष आइपुग्छ । स्थानीयवासीहरु यार्सागुम्वाको एकै सिजनमा लाखौँ रुपैँयाको आम्दानी हुनेभएकाले वर्षभरी घरखेतवारीको काम गर्ने र एक वर्षको एक सिजनको दुई हप्तामै प्रतिघर वराबर ५ लाखसम्म आम्दानी गर्ने भएकाले बालबालिका देखी बृद्धबृद्धा तथा बिद्यार्थी देखी शिक्षक सम्म यार्सागुम्वा टिप्न गाँउ नै छोडर लेकतिर जाने गर्छन । यसै गरी यार्सा सिजन सुरु नहुँदै बिद्यालय पनि बन्द भएका छन् ।

शिक्षक तथा विद्यार्थी यार्सा टिप्न गएपछि गाउँपालिका क्षेत्रका विद्यालय दुई महिनाका लागि बन्द भएका हुन् । यार्सा सिजन सकिएपछि असार दोस्रो सातादेखि मात्र विद्यालय खुल्ने पुथा हिमालय माविका सदस्य भरतकुमार पुनले बताउनुभयो । गाउँपालिकाको वडा नम्बर–१ मा दुई, २ मा पाँच, ३ मा एक, चारमा दुई, पाँचमा तीन र ६ मा दुई गरी १५ वटा विद्यालय छन् ।

यो वर्ष बढी हिमपात भएका कारण जेठ तेस्रो साताबाट यार्सा खुला गर्ने यार्सा व्यवस्थापन समितिको तयारी छ । यार्सा व्यवस्थापन समितिले यार्सा खुला गर्नुभन्दा अगाडि हरेक वर्ष यार्साको सुरक्षार्थ हेरालु खटाउने गरेको छ । गाउँपालिकाको १ र २ नम्बर वडाबाट हरेक वर्ष ६ सयको हाराहारीमा हेरालु पाटन पुग्ने गर्छन् । एक घर एक हेरालु पाटन जाने गरेका छन् ।

सिजन नखुल्दै यार्सा संकलन;  स्रोतका अनुसार यार्सा सिजन नखुल्दै सुरक्षाको नाममा गएका स्थानीयले यार्सा टिपिसकेका हुन्छन् । आफुले संकलन गर्ने जति यार्सा संकलन गरिसकेपछि मात्र व्यवस्थापन समितीले यार्सा सिजन खुल्ला गर्ने गरेको स्रोतको दावी छ । हरेक बर्ष सुरक्षाको नाममा स्थानीयहरु दुई हप्ता पहिलै बुकितिर जाने र संकलन गरिसकेपछि मात्र बाहिरबाट जानेका लागी खुल्ला गर्ने गरिएको बताइएको छ । यस बर्ष पनि सिजन सुरु नहुँदै सुरक्षाको गर्ने भन्दै बिद्यालय बन्द गरेर गाँउ सुनसान पारी लेकतिर स्थानीयहरु गएका छन् । स्रोतका अनुसार सो ठाँउमा उनीहरुले यार्सा संकलन सुरु गरिसकेका छन् । -न्युजअफनेपाल